आइतबार, साउन २४, २०८३

भिक्षुणी डा. धम्मवती गुरुमाँको ९३औँ जन्मोत्सव:‘कवितामा धम्मवती’ छन्द काव्य उत्सव सम्पन्न

काठमाडौं। सम्यक् सन्देशकाे आयाेजना एवं धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा ‘कवितामा धम्मवती’ छन्द काव्य सम्पन्न भएको छ।

धर्मकीर्ति विहारकी प्रमुख परमपूज्य भिक्षुणी डा. धम्मवती गुरुमाँको ९३औँ जन्मोत्सवका अवसरमा शनिबार विहारमा आयोजित उक्त काव्य उत्सव धम्मवती गुरुमांको साधना, साहित्यिक योगदान तथा प्रेरणादायी जीवनलाई कविताका माध्यमबाट सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार तथा कविहरूले धम्मवती गुरुमांप्रति समर्पित कविता वाचन गरेका थिए । शारीरिक अस्वस्थताका बाबजुद कार्यक्रममा उपस्थित धम्मवती गुरुमांले आफ्नो सान्निध्य, स्नेह र आशीर्वाद प्रदान गर्नुभएको थियाे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बज्रयान महाविहार, लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्य सहभागी हुनुभएको थियो। उहाँले धम्मवती गुरुमांको साधना, योगदान र व्यक्तित्वबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो।

यसैगरी, कार्यक्रमका सभापति धर्मकीर्ति विहार संरक्षण कोषकी उपाध्यक्ष श्रद्धेय खेमावती गुरुमां, प्राज्ञ डा. रिना तुलाधर तथा उपन्यासकार गंगाप्रसाद भेटवालले धम्मवती गुरुमांको साधना, व्यक्तित्व, साहित्यिक योगदान र प्रेरणादायी जीवनका विभिन्न आयामबारे विचार व्यक्त गर्नुभएको थियो।

कविहरूका कविता तथा प्रस्तुतिले उत्सवलाई साहित्य, श्रद्धा, साधना र सिर्जनाको संगमका रूपमा स्थापित गरेको आयोजकको भनाइ छ। कार्यक्रममा विहारका आवासीय गुरुमांहरू, साहित्यकार, विद्वत् वर्ग, साहित्यप्रेमी, शुभेच्छुक, उपासक–उपासिका तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई धर्मकीर्ति विहार संरक्षण कोषका सदस्य अरुणसिद्धी तुलाधरले सहजीकरण गरेका थिए। आयोजक सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले कार्यक्रम सफल बनाउन सहयोग गर्ने धर्मकीर्ति विहार संरक्षण कोष, कोषका पदाधिकारी, साहित्यकार, कवि, सञ्चारकर्मी, शुभेच्छुक तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्नुभएकाे छ ।

वहाँका अनुसार कार्यक्रममा वाचन गरिएका कवितासहित अन्य कविहरूले धम्मवती गुरुमांका बारेमा सिर्जना गरेका कविताहरू समेत संकलन गरी पुस्तकाकार रूपमा अभिलेखीकरण गर्ने प्रयासलाई निरन्तरता दिइनेछ।

आयोजकले धम्मवती गुरुमांको साधना, साहित्यिक योगदान र प्रेरणादायी जीवनलाई नयाँ पुस्तासम्म पुर्‍याउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

यसमा तपाईको प्रतिक्रिया