मङ्गलबार, असार १६, २०८३

जापानमा नेपालीले बनाएको विशाल बुद्ध मूर्ति सर्वसाधारणको लागि खुला

टोकियो । जापानको कुमामोतो प्रान्तस्थित खामि-अमाकुसा शहरको पहाडमा निर्माणाधीन विशाल बुद्ध मूर्ति सर्वसाधारणको लागि खुला गरिएको छ ।
कुमामोतोमा नेपाली मूर्तिकारहरूले निर्माण गरीरहेको “मागाइ नो सातो ओशिमा सेकिबुचु(यामा” नामक विशाल ढुङ्गाका मूर्तिहरूको बगैँचा पहिलो पटक सर्वसाधारणका लागि खुल्ला गरिएको हो ।
यो परियोजना ९० वर्षीय जापानी व्यवसायी ओशिमा शिजुकीले आफ्नो व्यक्तिगत लगानीमा विगत ४० वर्षदेखि निर्माण गर्दै आएका हुन्।
यस परियोजनाको विशेषता भनेको बुद्धको जन्मस्थल नेपालबाट दक्ष मूर्तिकारहरूलाई जापान ल्याएर मूर्तिहरू निर्माण गरिनु हो। मञ्जुल मितेरीको नेतृत्वमा रहेका नेपाली मूर्तिकारहरूको सहयोगमा सन् २०२३ सम्ममा ६ देखि १८.५ मिटर अग्ला ७ वटा भव्य बुद्ध मूर्तिहरू तयार भइसकेका छन्।
हालै विशाल ड्रागन आकृति पनि निर्माण भएपछि यो क्षेत्रलाई अप्रिल २३ देखि २६ सम्म पहिलो पटक सार्वजनिक प्रदर्शनीका लागि खुला गरिएको हो। परियोजना सन् २०२८ सम्म पूरा हुने अनुमान गरिएको छ र पछि यसलाई सार्वजनिक पार्क तथा खुला कला संग्रहालयको रूपमा सरकारलाई हस्तान्तरण गर्ने योजना छ।