टोकियो । जापानमा सवारी चालक अनुमति पत्र (Driving License) प्राप्त गर्ने नेपालीहरूका लागि नेपाली राजदूतावास टोकियोले प्रमाणीकरणसम्बन्धी सेवा थप सरल बनाएको छ।
नेपाली राजदूतावास, टोकियोले जारी गरेको सूचनाअनुसार, यसअघि जापानको सम्बन्धित निकायमा सवारी चालक अनुमति पत्र प्राप्त गर्ने प्रयोजनका लागि नेपाली सवारी चालक अनुमतिपत्रलाई सम्बन्धित यातायात व्यवस्था कार्यालयको पत्रका आधारमा त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गराई त्यसपछि नेपाली राजदूतावास, टोकियोबाट समेत प्रमाणीकरण गराउनुपर्ने व्यवस्था थियो।
अब भने नेपाली सवारी चालक अनुमतिपत्रलाई नेपाली राजदूतावास, टोकियोबाटै सिधै प्रमाणीकरण गरिने व्यवस्था गरिएको छ। यससँगै जापानमा रहेका नेपाली सेवाग्राहीलाई कागजात प्रमाणीकरणका लागि नेपालमा थप प्रक्रिया पूरा गर्नुपर्ने झन्झट कम हुने भएको छ।
राजदूतावासले नयाँ व्यवस्थाबारे सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरेको छ।

