शनिबार, भदौ २७, २०८३

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा लामिछाने, उपसंयोजकमा पाण्डे चयन

जापान । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) को एसिया प्रदेश संगठन समितिको बैठकले एसिया प्रदेशअन्तर्गत विभिन्न देशमा रहेका प्रवासी संगठनहरूको नेतृत्व तथा आगामी संगठनात्मक कार्ययोजनालाई टुंगो लगाएको छ।

पार्टीको प्रवास संगठन ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापान’ को गत आइतबार सम्पन्न बैठकले संयोजकमा पूर्व ‘प्रवासी नेपाली एकता मञ्च’ का अध्यक्ष हरि लामिछाने र उपसंयोजकमा पूर्व ‘नेपाली जनप्रगतिशील मञ्च’ का वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेलाई चयन गरेको हो। भने जापान इंचार्जमा नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष मोहन पौडेललाई तोकेको छ ।

पार्टी एकताको प्रक्रियालाई प्रवासमा समेत व्यवस्थित रूपमा अघि बढाउने उद्देश्यसहित साविकका दुवै संगठनका राष्ट्रिय समितिहरूलाई समायोजन गरी ‘एकता आयोजक समिति’ निर्माण गर्ने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, एसिया प्रदेशअन्तर्गत रहेका सबै देशहरूमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने कार्ययोजना समेत बैठकले पारित गरेको छ। राष्ट्रिय अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित र एकीकृत बनाउँदै नयाँ नेतृत्व तथा सांगठनिक संरचना निर्माण गर्ने तयारी गरिएको जनाइएको छ।

एसिया प्रदेश इन्चार्ज डिबी क्षेत्री,सह इन्चार्ज दोर्ण प्रसाद सिलवाल लगाएत नेताहरूको उपस्थितीमा सम्पन्न उक्त बैठक नेपाली कम्युनिष्ट पार्टीका एसिया प्रदेश संयोजक सनी कुमार ओली को अध्यक्षतामा बसेको थियो। बैठकको सञ्चालन प्रदेश उपसंयोजक भवानी पन्त ले गर्नुभएको थियो भने अर्का उपसंयोजक डा. भुपालमान श्रेष्ठ ले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।

बैठकले प्रवासमा रहेका नेपाली कम्युनिष्ट पार्टीसम्बद्ध संगठनहरूबीचको एकतालाई संस्थागत गर्दै एसिया प्रदेशमा संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णयसमेत गरेको छ।

जापानमा लामिछानेको संयोजकत्व र पाण्डेको उपसंयोजकत्वमा नयाँ संरचना निर्माण भएसँगै साविकका दुवै संगठनलाई समेटेर एकीकृत संगठन निर्माणको प्रक्रिया अघि बढ्ने भएको छ।

यसमा तपाईको प्रतिक्रिया