टोकियो । जापानको वाकायामा प्रान्तका गर्भनर इजुमी मियाजाकीले नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि १० लाख जापानी येन सहयोग प्रदान गर्नुभएको छ।
टोकियोस्थित नेपाली राजदूतावासमा आज पुग्नुभएका गर्भनर मियाजाकीले रसुवा जिल्लामा आएको त्रासदीपूर्ण बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो। सो अवसरमा उहाँले वाकायामा प्रान्तीय सरकारका तर्फबाट बाढी तथा पहिरो प्रभावित नागरिकको राहतका लागि १० लाख जापानी येन सहयोग प्रदान गर्नुभएको हो।
यसैगरी, टोकियोको सुमिदा-कुस्थित क्राभ कम्पनीका तर्फबाट पनि आज नै १० लाख जापानी येन राहत सहयोग प्राप्त भएको छ। नेपाली राजदूतावासले सहयोगका लागि वाकायामा प्रान्तीय सरकार तथा Crave Company Ltd. प्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने अवस्था रहेको भन्दै नेपाल सरकारको निर्देशनअनुसार जापानस्थित नेपाली राजदूतावासले आर्थिक सहयोग संकलनका लागि राहत कोषको बैंक खाता समेत स्थापना गरेको कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले जानकारी दिनुभएको छ।
राजदूतावासले विपद्को यस कठिन घडीमा नेपाल र नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने जापान सरकार, स्थानीय तह, विभिन्न संघसंस्था, कम्पनी तथा जापानस्थित नेपाली समुदायप्रति आभार व्यक्त गरेको छ ।

