सोमबार, असोज १९, २०८३

जापानमा अफ्लाटक्सिन भेटिएपछि नेपाली खाद्य पदार्थ फिर्ता गर्न आदेश

टोकियो । जापानको चिबा प्रिफेक्चरले अत्यधिक क्यान्सरजन्य मानिने माइकोटक्सिन ‘अफ्लाटक्सिन’ भेटिएपछि साकुरा सिटीस्थित एक खाद्य पदार्थ आयात तथा वितरण कम्पनीलाई स्न्याक्स उत्पादन फिर्ता गर्न आदेश दिएको छ।

प्रिफेक्चरको स्वास्थ्य निर्देशन विभागका अनुसार ‘BHUTEKO MAKAI’ नामक मकैबाट बनेको स्न्याक्समा तोकिएको मापदण्डभन्दा बढी अफ्लाटक्सिन भेटिएको हो।
सेप्टेम्बर ३० मा जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आयातित खाद्य पदार्थको अनुगमनका क्रममा नारिता विमानस्थल क्वारेन्टाइन स्टेसनले उक्त स्न्याक्समा निर्धारित सीमाभन्दा बढी अफ्लाटक्सिन भेटिएको जानकारी चिबा प्रिफेक्चरको स्वास्थ्य निर्देशन विभागलाई गराएको थियो।

त्यसै दिन आयातकर्ताको कार्यालय रहेको क्षेत्र हेर्ने इन्बा पब्लिक हेल्थ सेन्टरले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा सेप्टेम्बर १७ देखि ३० तारिखसम्म उक्त उत्पादनका ३८ वटा प्याकेट बिक्री भइसकेको पाइएको थियो।

त्यसपछि साकुरा सिटीस्थित खाद्य पदार्थ आयात तथा वितरण कम्पनी NEPAL EXPRESS PARCEL AND LOGISTICS PVT LTD. लाई उक्त उत्पादन फिर्ता लिन आदेश दिइएको हो। कम्पनीले उत्पादनको ढुवानी रोकिसकेको र स्वेच्छिक रूपमा बजारमा बिक्री भएका सामान फिर्ता गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
अफ्लाटक्सिन दूषित खाद्य पदार्थ सेवन गर्दा ज्वरो, झाडापखाला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेजस्ता तीव्र तथा दीर्घकालीन स्वास्थ्य समस्या निम्तिन सक्ने बताइएको छ।
यद्यपि, हालसम्म उक्त स्न्याक्स सेवन गरेका कारण स्वास्थ्यमा समस्या देखिएको कुनै रिपोर्ट प्राप्त नभएको चिबा प्रिफेक्चरले जनाएको छ।

जापानमा आयातित खाद्य पदार्थको अनुगमनका क्रममा अफ्लाटक्सिनको मात्रा तोकिएको सीमाभन्दा बढी भेटिएपछि सम्बन्धित उत्पादन बजारबाट फिर्ता गर्न लागिएको हो।

यसमा तपाईको प्रतिक्रिया