काठमाडौं । जापानका लागि नेपालका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूलाई लागेको स्थायी आवासीय अनुमति (पीआर) र स्वार्थको द्वन्द्वसम्बन्धी आरोपको खण्डन गर्नुभएको छ। उहाँले जापानको पीआर त्यागेर नेपालको राष्ट्रिय हितमा काम गर्ने उद्देश्यका साथ अघि बढेको दाबी गर्नुभएको हो।
बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा थापाले आफू र आफ्नो परिवारको जापानस्थित हैसियतबारे उठेका प्रश्नको जवाफ दिँदै जापानस्थित नेपाली राजदूतावासले त्यहाँको अध्यागमन विभागमार्फत आफूले पीआर त्यागेको लिखित जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको स्पष्ट पार्नुभयो।
आफ्नो पारिवारिक अवस्थाबारे प्रस्ट पार्दै उहाँले आफू र आफ्नो परिवार कानुनी तथा भावनात्मक रूपमा नेपालसँगै जोडिएको बताउनुभयो। उहाँका अनुसार श्रीमती र छोराछोरी जापानमा भिसाका आधारमा बसोबास गरिरहेका छन् र उनीहरू नेपाली नागरिक नै हुन्।
जापानमा आफ्नो स्वामित्वमा रहेको घरबारे उठेका प्रश्नको जवाफ दिँदै थापाले उक्त घर कानुनी रूपमा श्रीमतीको नाममा रहेको र त्यसमा आफ्नो कुनै व्यावसायिक स्वार्थ नरहेको दाबी गर्नुभयो।
उहाँले नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो लामो अनुभव र जापानसँगको पहुँच उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो। कूटनीतिक मर्यादाभित्र रहेर जापानमा रहँदा पनि नेपालको हितमा निरन्तर काम गरेको उल्लेख गर्दै उहाँले राजदूतमा अनुमोदन भए राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
प्रस्तावित राजदूत थापाको पीआर, पारिवारिक अवस्था र सम्भावित स्वार्थको द्वन्द्वबारे संसदीय सुनुवाइ समितिमा प्रश्न उठेपछि उहाँले आफ्नो धारणा स्पष्ट पार्नुभएको हो।

