बुधबार, असोज २८, २०८३

जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे, १ लाख १६ हजार विद्यार्थी

काठमाडौं । जापानमा बस्ने नेपाली ३ लाख ९९२ पुगे छन । यसमा १ लाख १६ हजार विद्यार्थी रहेका छन् ।जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले यस्तो तथ्यांक संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेका हुन् ।

उनका अनुसार सन् २००५ मा ६ हजार ९५३ थिए । अहिले बढेर ३ लाख ९९२ पुगेका छन् । यो करिब ४३ गुणा वृद्धि हो ।सबैभन्दा ठूलो समूह विद्यार्थी १ लाख १६ हजार रहेको र त्यसपछि परिवार आश्रित, प्राविधिक/मानवीय ज्ञान, विशेष सीपयुक्त कामदार आदि रहेका छन ।

यसकारण कन्सुलर सेवाको माग बढेको तर जनशक्ति र पूर्वाधार अपर्याप्त रहेको प्रस्तावित राजदूत थापाले बताए ।सुनुवाइ समितिमा कार्ययोजना प्रस्तुत गर्दै थापाले नागरिकमैत्री कन्सुलर सेवाका लागि काम गर्ने बताएका छन् ।

सहज, सम्मानपूर्ण र समयमै सेवा पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले गुनासो दर्ता, सुनुवाइ र जवाफ दिने स्पष्ट व्यवस्था गर्ने, टोकियोबाहिर घुम्ती सम्मिलित सेवा संचालन गर्ने प्रतिबद्धता जनाएका छन ।

विद्यार्थी, श्रमिक, परिवार र व्यवसायीका लागि सूचना र परामर्श, मागपत्र प्रमाणीकरणमा स्पष्ट प्रक्रिया विकास गर्ने योजना सुनाएका छन ।डिजिटल दूतावास तथा सूचना व्यवस्थापन अन्तर्गत कन्सुलर सेवाको एकीकृत नेपाली सूचना सार्वजनिक गर्ने, अनलाइन आवेदन, समय बुकिङ, डिजिटल भुक्तानी र आवेदन अवस्था हेर्ने सुविधा दिने उल्लेख गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया