सोमबार, माघ १३, २०८२

अनेसासको टोकियोमा कविता कन्सर्टको तेस्रो शृङ्खला सम्पन्न

जापान । अनेसास जापानको आयोजनामा टोकियोमा कविता कन्सर्टको तेस्रो शृङ्खला सम्पन्न भएको छ ।
कन्सर्टमा जापानमा रहेका चर्चित पाँच जना कवि तथा कवयत्रीहरूले आफ्ना सशक्त तथा भावनात्मक कविता वाचन गर्नुभएको थियो । कविता वाचन गर्नेहरूमा कवि डिजी शर्मा, सुविन न्यौपाने कान्जिभाइँ, बलराम उपाध्याय, आदिपुरुष तथा कवयत्री सविता भण्डारी रहनुभएको थियो ।
कविता मार्फत कवि तथा कवयत्रीहरूले माया–प्रेम, देशप्रेम, देशको समसामयिक अवस्था, सामाजिक कुरीति तथा परदेशिनुको बाध्यताजस्ता विषयवस्तुहरूलाई मार्मिक रूपमा प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समुद्रराज पौडेल, नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव अर्जुन लामिछाने, अनेसास जापानका सल्लाहकार हारुहितो नोजु तथा बिओटीका उपसभापति एवं अनेसास जापानका पूर्वअध्यक्ष तथा संरक्षक विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको अध्यक्षता, उपाध्यक्ष संगिता कुँवरको स्वागत मन्तव्य तथा महासचिव मनोज मौसम केसीको सञ्चालनमा सम्पन्न भएको हो।