टोकियो । गत भाद्र १० गते नेपालमा आएको ठूलो बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्निर्माणका लागि जापानस्थित ब्लू स्काई जापान कम्पनी लिमिटेडले १० लाख जापानी येन आर्थिक सहयोग गरेको छ।
ब्लू स्काई जापानका प्रतिनिधि निर्देशक सन्तोष पौडेलको नेतृत्वमा कम्पनीले आफू आबद्ध जनरल इन्कर्पोरेटेड एसोसिएसन फरेन इम्प्लोयमेन्ट काउन्सिल र जनरल इन्कर्पोरेटेड एसोसिएसन जापान–नेपाल डेभलपमेन्ट फोरममार्फत उक्त सहयोग उपलब्ध गराएको हो।
उक्त राहत रकम नेपालमा प्रत्यक्ष रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको निर्देशक पौडेलले जानकारी गराएका छन्। सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल–जापान संसदीय मैत्री समूहका संयोजक डा. धनञ्जय रेग्मीसमेत उपस्थित थिए।
हालैको विनाशकारी बाढी तथा पहिरोका कारण मध्य नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट धेरै नागरिकले ज्यान गुमाएका छन् भने प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका कार्यहरू अझै जारी छन्।
ब्लू स्काई जापानले विपद्मा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख तथा श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, कम्पनीले प्रदान गरेको सहयोगले प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

