आइतबार, भदौ २१, २०८३

एनआरएनए जापानद्वारा बाढीपीडितको सम्झनामा श्रद्धाञ्जली सभा गरि दीप प्रज्वलन कार्यक्रम सम्पन्न

रामकृष्ण लामिछाने, टोकियो ।
नेपालमा भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
एनआरएनए एनसीसी जापानको समन्वयमा शनिबार टोकियोस्थित सोलमारी मुरा हलमा आयोजित कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण नेपालीप्रति मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपत्तिमा परेका परिवारलाई आवश्यक सहयोगका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिइएको थियो।
एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेले भोटेकोसी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारको दुःखमा जापानस्थित नेपाली समुदाय साथमा रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक कामना भण्डारीले श्रद्धाञ्जली सभा मृतकप्रति सम्मान व्यक्त गर्ने मात्र नभई विपत्तिमा परेका नेपालीप्रति ऐक्यबद्धता जनाउने अवसर भएको बताउनुभयो।
सभामा बौद्ध गुरु सन्दीप गुरुङ र हिन्दु गुरु हरि रिजालले शान्ति तथा शान्त्वना मन्तव्यसहित शोक सन्देश प्रस्तुत गर्नुभएको थियो। श्रद्धाञ्जली सभामा सहभागीहरूले ‘दुःखको यस घडीमा हामी सबै एकसाथ उभिऔँ’ भन्ने भावनासहित नेपालमा बाढीबाट प्रभावित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

यसमा तपाईको प्रतिक्रिया