शनिबार, भदौ १३, २०८३

ओएनएफले बाढीपहिरो पीडितका लागि विश्वव्यापी राहत संकलन गर्दै, २० लाख दिने घोषणा

टोकियो । नेपालमा हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च, (ओएनएफ)अन्तर्राष्ट्रिय कमिटीले विश्वव्यापी राहत सहयोग अभियान सञ्चालन गरेको छ।
ओएनएफ अन्तर्राष्ट्रिय कमिटीको २७ अगस्टमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको उपसचिव तथा प्रचार बिभाग प्रमुख भक्त गुरुंगले जानकारी दिनुभयो ।

बैठकले अन्तर्राष्ट्रिय सञ्जालमार्फत विश्वभर ‘नेपाल बाढी पहिरो प्रभावित राहत सहयोग अभियान’ तत्काल सञ्चालन गर्ने साथै प्रवासी नेपाली मञ्च अन्तर्गतका सम्पूर्ण महादेश, राष्ट्रिय तथा मातहतका कमिटीलाई आ–आफ्नो देश तथा क्षेत्रमा सक्रिय रूपमा राहत सहयोग संकलन अभियान सञ्चालन गर्न परिचालन गर्ने निर्णय गरिएको छ।

अभियानलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन प्रत्येक देशमा सम्बन्धित राष्ट्रिय कमिटीका इन्चार्जको नेतृत्वमा ‘नेपाल बाढी पहिरो प्रभावित राहत सहयोग संकलन समिति’ गठन गरिने जनाइएको छ। समितिमा सम्बन्धित राष्ट्रिय कमिटीका अध्यक्ष, पदाधिकारी तथा स्थानीय परिस्थितिअनुसार संगठनका जिम्मेवार सदस्यहरूलाई समावेश गरिनेछ।

संकलित सम्पूर्ण राहत रकम प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको आधिकारिक बैंक खातामा जम्मा गरिनेछ। प्रत्येक देशका राहत सहयोग संकलन समितिले संकलित रकम निर्धारित समय ३० दिन भित्र खातामा हस्तान्तरण गरी दाता, सहयोग रकम र कुल संकलित रकमको विवरण सचिवालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी संकलित रकमलाई नेपालमा बाढी तथा पहिरो प्रभावित नागरिकसम्म पुर्‍याउन सम्बन्धित सरकारी निकाय तथा संघसंस्थासँग समन्वय गर्ने निर्णय भएको छ।

अध्यक्ष रमेश पाण्डेको अध्यक्षता तथा निवर्तमान अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य कमरेड सञ्जय थापाको प्रमुख आतिथ्यतामा राहत अभियान संचालन गर्ने र सुरुवाती चरणमा नेपाली २० लाख दिने घोषणा गरेको हो।

ओएनएफ अन्तर्राष्ट्रिय कमिटीले विपद्को यस घडीमा ‘प्रवासबाट मातृभूमिका लागि’ भन्ने भावनासहित विश्वभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अभियानमा एकजुट भई सकेको आर्थिक सहयोग गर्न हार्दिक आह्वानसमेत गरेको छ।

यसमा तपाईको प्रतिक्रिया