काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् । शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो ।
यो फैसलासँगै चलचित्र ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रमा कुनै समुदाय वा वर्गलाई ठेस पुर्याउने गरी कुनै दृश्य वा संवाद नभएको बताए ।
बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथा रहेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदीलगायतले अभिनय गरेका छन् । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ गत वैशाख २५ देखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनरत छ ।

