काठमाडौं । मानव जीवनका चार दुःख मध्ये जन्म र जरालाई आध्यात्मिक रूपमा प्रस्तुत गरिएको भावपूर्ण बुद्ध भजन ‘जन्म–जरा’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। धर्मगुरु कोशिस लोब्साङ वाइबाको प्रस्तुतिमा तथा वज्ररानी आर्ट्ससँगको सहकार्यमा निर्माण भएको बुद्ध भजनको निर्देशन रबिन तामाङले गरेका छन्।
यस भजनमा मानव जीवनको जन्मदेखि वृद्धावस्थासम्मको यात्रालाई बौद्ध दर्शनसँग जोडेर प्रस्तुत गरिएको छ। प्रकृतिको शान्त वातावरणबीच बौद्ध भिक्षुको दृश्यलाई मुख्य रूपमा प्रस्तुत गरिएको उक्त भिडियोले आध्यात्मिकता, जीवन-दर्शन र मानवीय चेतनासँग सम्बन्धित रहेको संकेत गर्छ। भिडियोमा रुपेश लामा , कोशी लोब्साङ वाइबा, रोहनी लामा , रमिला मोक्तान , रिया लामा, सानुमाया तामाङ, टासी लामा, सुस्मा लामा, सृष्टि तामाङ, सुजिना लामा, माया शेर्पा लगायत कलाकारको अभिनय रहेको छ।
कलाकार राजु लामाको सुमधुर स्वर रहेको उक्तभजनमा कोशी लोब्साङ वाइबाकै शब्द तथा सुसान लामाको संगीत रहेको छ। योन्जन साम्पाङ राई (सन्दिप)ले छायांकन गरेको उक्त गीत सम्पादन भने अजय गुरुङले गरेका छन्। ‘जन्म–जरा’ले मनोरञ्जनसँगै जीवन, जन्म र अस्तित्वका गहिरा प्रश्नलाई आध्यात्मिक दृष्टिकोणबाट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
‘जन्म–जरा’ ले जीवनको अनित्यतालाई स्मरण गराउँदै दुःखबाट मुक्ति र शान्तिको मार्गतर्फ अघि बढ्न प्रेरणा दिने सन्देश बोकेको छ। भजनमा बुद्ध दर्शन, जीवनको वास्तविकता र आध्यात्मिक चेतनालाई संगीतमार्फत प्रस्तुत गरिएको छ। मानव जीवन दुःख र सुखको चक्रसँग जोडिएको हुन्छ। मानिसले आफ्नो जीवनमा गरेका कर्मअनुसार त्यसको फल भोग्नुपर्ने बौद्ध दर्शनको मूल भावलाई एउटा गीतमार्फत प्रस्तुत गरिएको छ।
गीतले मानिसमा आउने चार प्रकारका दुःख र ती दुःखबाट मुक्त हुने आध्यात्मिक मार्गबारे सन्देश दिएको छ। धर्मगुरु बाईबाका अनुसार मानव जीवनमा आइपर्ने दुःखबाट मुक्त हुन बुद्ध धर्मका त्रिरत्न(बुद्ध, धर्म र संघको शरण लिनु महत्वपूर्ण मार्ग हो। मानिसले जस्तोसुकै नराम्रो कर्म गरेको भएपनि त्यसप्रति गहिरो पश्चाताप गर्दै सम्पूर्ण प्राणीप्रति गहन करुणाको भावना जागृत गर्न सके विगतमा गरिएका अकुशल कर्मबाट मुक्त हुने बाटो खुल्ने उनी बताउँछन।
“हामीले गरेको गल्ती र अकुशल कर्मबाट मुक्त हुन पश्चाताप मात्र पर्याप्त हुँदैन। त्यसका लागि ज्ञान र पुण्यसँग सम्बन्धित कर्मको सञ्चय गर्नुपर्छ,” धर्मगुरु बाईबाले भने। बौद्ध दर्शनमा क्लेश आवरण र ज्ञेय आवरणलाई बोधि प्राप्तिको मार्गमा रहेका प्रमुख अवरोधका रूपमा लिइन्छ। त्यसैले बोधि हासिल गर्न साधकले आफ्नो मनमा रहेका लोभ, द्वेष, मोहलगायतका क्लेश तथा सत्यको पूर्ण ज्ञानमा बाधा पुर्याउने आवरणलाई क्रमशः त्याग्दै जानुपर्ने धर्मगुरु बाईबाको भनाइ छ। उनका अनुसार करुणा, प्रज्ञा, पुण्य सञ्चय र त्रिरत्नप्रतिको श्रद्धालाई जीवनको अभ्यासमा उतार्न सके मानिस दुःखको चक्रबाट मुक्त हुँदै बोधिको मार्गतर्फ अघि बढ्न सक्छ।

