जापान । नेपाली मौलिक कला, संस्कृति, भेषभूषा, भाषा तथा खानाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले जापानको कन्साई क्षेत्रमा ‘नेफिन सांस्कृतिक महोत्सव कान्साई २०२६’आयोजना हुने भएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, जापान क्षेत्रीय समिति कन्साईको आयोजनामा आगामी सेप्टेम्बर १८ र १९ तारिख दुईदिने सांस्कृतिक महोत्सव आयोजना हुन लागेको हो।
महोत्सव ह्योगो प्रिफेक्चरको अमागासाकी सिटीस्थित कान्दा नाकादोरी १–४ मा आयोजना हुनेछ। दुवै दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ।
नेपाली संस्कृति चिनाउने
-नेपालका विभिन्न आदिवासी जनजातिको मौलिक भाषा, कला, संस्कृति र पहिचानलाई जापानी तथा अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउने मुख्य उद्देश्य महोत्सवको रहेको आयोजकको भनाइ छ।
महोत्सवमा नेपालका हिमाल, पहाड तथा तराई–मधेशमा रहेका विभिन्न समुदायका मौलिक नृत्य, संगीत, परम्परागत भेषभूषा, नेपाली खानाका परिकार, सांस्कृतिक स्टल, हस्तकला तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनेछ।
जापानमा हुर्किरहेको नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति र पहिचानसँग जोड्नुका साथै नेपाली समुदायबीच आपसी सद्भाव, एकता र सांस्कृतिक आदानप्रदान बढाउने माध्यमका रूपमा पनि महोत्सवलाई लिइएको छ।
जापानी तथा विदेशीलाई निमन्त्रणा
-महोत्सव नेपाली समुदायमा मात्र सीमित नरहने आयोजकले जनाएको छ। जापानी नागरिक तथा जापानमा रहेका अन्य देशका नागरिकलाई समेत नेपाली कला, संस्कृति र परम्पराबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
महोत्सवमा विभिन्न सांस्कृतिक सामग्री, नेपाली परिकार तथा हस्तकलाका स्टलसमेत रहनेछन्।
६ ओटा एकल जातीय संस्था सह-आयोजक
-जनजाति महासंघ कांसाईले मुख्य आयोजना गरेको ‘नेफिन सांस्कृतिक महोत्सव कान्साई २०२६’ लाई किरात याक्थून चुमलुंग कांसाई, शेर्पा संघ कांसाई, नेपाल तामांग समाज कांसाई, थारू कल्याणकारी सभा कांसाई, गुरुंग समाज जापान कांसाई, नेपाल मगर संघ कांसाई रहेको छ ।
कार्यक्रममा सेवा इन्टरनेशनल स्कुल इभेन्ट पार्टनरका रूपमा रहेको छ भने अमागासाकी सिटीको सहयोग तथा विभिन्न संघसंस्थाको सहकार्य रहनेछ।
आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली, जापानी नागरिक तथा नेपाली कला–संस्कृतिप्रति रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी भई नेपाली भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्धनमा साथ दिन आग्रह गरेको छ।

