काठमाडौँ । नेकपा(एमाले)को प्रवासको संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) गते काठमाडौँमा हुने भएको छ ।
अधिवेशनमा विश्वभरका ३९ देशका ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ ।
‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आयोजना हुने अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तया भएको मञ्चका अध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो ।
प्रवासी नेपाली मञ्चले विश्वभर छरिएर रहेका नेपालीलाई सङ्गठित गर्दै उनीहरूको हकहित, अधिकार र पहिचान संरक्षणका साथै नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिमा योगदान पुर्याउने उद्देश्य राखेको छ ।
मञ्चका उपसचिव तथा प्रचार प्रसार विभाग प्रमुख भक्त गुरूँगका अनुसार हाल विश्वका ३९ देशमा राष्ट्रिय कमिटी गठन भएका छन् भने ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको छ । सङ्गठनमा दशौँ हजार नेपाली आबद्ध रहेको बताउनु भयो।
अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकका अधिकार, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकारलगायत विषयमा छलफल हुनेछ । गैरआवासीय नेपाली संघसहित विभिन्न संघसंस्थासँगको सम्बन्ध र सहकार्यलाई पनि छलफलको विषय बनाइनेछ ।
त्यसैगरी, विभिन्न देशमा क्रियाशील राष्ट्रिय कमिटीबीच समन्वय र सहकार्य बढाउँदै सङ्गठनलाई थप सुदृढ बनाउने तथा प्रवासमा रहेका नेपालीका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल अघि बढाउने विषयलाई प्राथमिकता दिइने मञ्चले जनाएको छ । नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिकालाई थप प्रभावकारी बनाउने लक्ष्यसमेत अधिवेशनले लिएको छ ।
अधिवेशनको सन्दर्भमा मञ्चले विश्वव्यापी ‘मिडिया कन्टेन्ट क्रिएसन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । अक्टोबर ११ देखि नोभेम्बर ३, २०२६ सम्म सञ्चालन हुने प्रतियोगितामा उत्कृष्ट हुने एक जना सिर्जनाकर्मीलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आइतबार पत्रकार सम्मेलनमा आयोजक मञ्चले जानकारी दिएको छ।
सूचना तथा प्रविधिको युगमा गुणस्तरीय र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । मञ्चले प्रतियोगितामा सहभागी हुन इच्छुकलाई आफ्ना सिर्जना प्रस्तुत गर्न आग्रह गरेको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले अधिवेशन सफल बनाउन विश्वभरका राष्ट्रिय कमिटी, नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुकलाई सक्रिय सहभागिता जनाउन र आवश्यक तयारीमा जुट्न आह्वान गरिएको छ ।

