भवानी भट्ट, टोकियो ।
जापानको टोकियोमा जन्मिएका बझाङका बालक अयांश थापा विश्व कीर्तिमान कायम भएको ऐतिहासिक सामूहिक Awa Dance कार्यक्रममा सहभागी हुँदै गिनिज वर्ल्ड रेकर्ड्सको official certificate प्राप्त गर्न सफल भएका छन्।
टोकियोको शिन्जुकुस्थित Kagurazaka Festivalमा गत २५ जुलाई २०२६ मा आयोजित विशेष Awa Dance कार्यक्रममा अयांशसहित १ हजार ५० जना सहभागी भएका थिए। एउटै choreography मा प्रस्तुत गरिएको उक्त सामूहिक नृत्यलाई गिनिज वर्ल्ड रेकर्ड्सले “The largest Awa dance (same choreography)” शीर्षकमा विश्व कीर्तिमानका रूपमा प्रमाणित गरेको हो।
उक्त विश्व कीर्तिमान Kagurazaka Kodomo-ren (Japan) ले हासिल गरेको हो। ऐतिहासिक प्रस्तुतिमा सहभागी अयांशलाई पनि गिनिज वर्ल्ड रेकर्ड्सको official certificate प्रदान गरिएको छ। प्रमाणपत्रमा अयांशले उक्तगिनिज वर्ल्ड रेकर्ड्स title achievement मा “took part” गरेको उल्लेख गरिएको छ।
अयांश सुदूरपश्चिम प्रदेश, बझाङ जिल्ला,खप्तड छान्ना गाउँपालिका–२, देहली भाडीखोला निवासी रमेश थापाका सुपुत्र हुन्। उनी हाल आफ्ना आमाबुवासँग जापानको टोकियोमा बस्दै अध्ययन गरिरहेका छन्। टोकियोको शिन्जुकुमा जन्मिएका अयांश हाल जापानी विद्यालयमा कक्षा ३ मा अध्ययनरत छन्।
सानै उमेरमा जापानको स्थानीय सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै विश्व कीर्तिमानको हिस्सा बन्न सफल अयांशको यो उपलब्धिले जापानमा हुर्किरहेका नेपाली बालबालिकाको प्रतिभा र सक्रियतालाई समेत उजागर गरेको छ। अध्ययनसँगै विभिन्न गतिविधिमा सहभागी हुँदै आएका अयांशका लागि यो प्रमाणपत्र बाल उमेरमै प्राप्त भएको अन्तर्राष्ट्रिय पहिचान बनेको छ।

अयांशका बुवा रमेश थापा जापानस्थित बझाङ समाज जापानका अध्यक्षसमेत हुन्। छोराले ऐतिहासिक विश्व कीर्तिमानमा सहभागिता जनाउँदै गिनिज वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र प्राप्त गर्नु परिवारका लागि मात्र नभई बझाङ र जापानस्थित नेपाली समुदायका लागि समेत गौरवको विषय बनेको छ।
अयांशको उपलब्धिप्रति सुदूरपश्चिमेली समाज जापानले पनि खुसी व्यक्त गरेको छ। समाजका महासचिव सुमित रोकायाले अयांशको उपलब्धि सुदूरपश्चिमेली समुदायका लागि गौरवको विषय भएको बताउँदै समाजका तर्फबाट उनलाई सम्मान गर्ने जानकारी दिएका छन्।
जापानमै जन्मिएर हुर्किरहेका अयांशले नेपाली मूल र आफ्नो पुर्ख्यौली थलो बझाङसँगको सम्बन्ध कायम राख्दै अन्तर्राष्ट्रियस्तरको ऐतिहासिक उपलब्धिमा सहभागिता जनाएका छन्। उनको यो सफलताले विदेशमा हुर्किरहेका नेपाली बालबालिकालाई आफ्ना रुचि, प्रतिभा र क्षमतालाई अगाडि बढाउन थप प्रेरणा दिने अपेक्षा गरिएको छ।
सानै उमेरमा गिनिज वर्ल्ड रेकर्ड्सको ऐतिहासिक उपलब्धिको हिस्सा बनेका अयांश अहिले परिवार, आफन्त र जापानस्थित नेपाली समुदायका लागि गर्व र प्रेरणाको नाम बनेका छन्।
अयांश थापालाई यस गौरवपूर्ण उपलब्धिका लागि हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना

