टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धता कार्यान्वयन गर्दै सेप्टेम्बरदेखि ‘कार्यालय सचिव’ नियुक्त गर्ने निर्णयलाई औपचारिक रूपमा लागू गरेको छ ।
संघले टोकियोको शिनओकुबोस्थित कार्यालयमा नियमित सेवा प्रवाह गर्ने उद्देश्यले दक्ष र अनुभवी सुजन पन्तलाई कार्यालय सचिवमा नियुक्त गरेको जानकारी दिएको छ । उनी हरेक सोमबारदेखि शुक्रबारसम्म बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म शनिबार, आइतबार र सार्वजनिक बिदा बाहेक कार्यालयमा उपस्थित रहने छन् ।
अब जापानभर रहेका नेपालीहरूले एनआरएनए जापानसँग सम्बन्धित विविध जानकारी, कानुनी सहयोग, दूतावाससँगको समन्वय, दैनिक जीवनसँग जोडिएका समस्या तथा अन्य परामर्शका लागि प्रत्यक्ष रूपमा कार्यालयमा पुगेर वा फोन र म्यासेजमार्फत सेवाग्राहण गर्न सक्ने छन् । यसका लागि संघले 080-6352-8286 हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।
फोन व्यस्त भएमा वा कार्यालय समय बाहिर परेमा सोही नम्बरमा भाईबरमार्फत सन्देश पठाएर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ । साथै, संघको आधिकारिक फेसबुक पेजमार्फत पनि सम्पर्क गर्न सकिने छ ।
एनआरएनए जापानका अनुसार, कार्यालय सचिवको उपस्थितिले जापानमा रहेका नेपालीहरूको दैनिक समस्या समाधानमा सहजता ल्याउने, आवश्यक सहयोग तथा समन्वयलाई तीव्र बनाउने र समुदायसँग प्रत्यक्ष संवाद कायम गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
संघले यो कदमलाई घोषणापत्रअनुरूपको प्रतिबद्धता कार्यान्वयनको उदाहरणका रूपमा प्रस्तुत गर्दै आगामी दिनमा पनि पारदर्शिता, जवाफदेहिता र सेवामुखी कार्यक्रमहरूमा अझ सक्रिय हुने बताएको छ ।

