आइतबार, माघ ०५, २०८२

जापानको नेपाली समुदायमा घरेलु झैझगडा र कुटपिटको घटना बढ्यो: राजदूत डा. सुवेदी

टोकियो । नेपाली राजदूतावास जापान , टोकियो महानगर प्रहरी विभाग तथा एनआरएनए जापानको संयुक्त आयोजनामा ‘जापानको नियम, कानूनी र सुरक्षा सम्बन्धी’ कार्यक्रम शनिवार टोक्योमा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख उद्देश्य जापानमा बसोबास गर्ने नेपाली समुदायलाई कानूनी व्यवस्था, सुरक्षा प्रणाली तथा सामाजिक मापदण्डबारे स्पष्ट र व्यावहारिक जानकारी प्रदान गर्नु थियो। सहभागीहरूलाई जापानको कानूनी संरचना, सुरक्षा प्रक्रिया, दैनिक जीवनमा पालना गर्नुपर्ने नियमकानून, ठगी तथा गैरकानूनी कार्यबाट जोगिन अपनाउनुपर्ने सावधानी लगायतका विषयमा केन्द्रीत गरिएको थियो। साथै, आत्म सुरक्षासम्बन्धी आधारभूत प्राविधिक ज्ञानसमेत प्रस्तुत गरिएको थियो।
सो अवसरमा नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले दूतावासमार्फत प्रदान गरिने सेवा सुविधामा ढिलाइ वा असुविधा भएमा सिधै आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा राजदूत सुवेदीले कानून विपरीत काम नगर्न र जापानको पुलिस प्रशासनले नेपाली समुदायमा घरेलु झैझगडा र कुटपिटको घटना बढेको खबर दूतावाससम्म लिएर आएको भन्दै आफनो घर-परिवारमा मिलेर बस्न समेत अपिल गर्नु भयो । साथै उहाँले नेपाल–जापानबीचको मित्रता, आपसी सहयोग तथा सांस्कृतिक, सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आगामी दिनमा यस्ता कार्यक्रमहरूको निरन्तर आवश्यकता रहेको कुरामा जोड दिनुभयो।
त्यस्तै, टोक्यो महानगर प्रहरीका वरिष्ठ अधिकृतले जापानमा सुरक्षित र व्यवस्थित जीवनयापनका लागि आवश्यक कानूनी प्रावधान, दैनिक जीवनमा अपनाउनुपर्ने सावधानी तथा व्यावहारिक उपायहरूबारे विस्तृत जानकारी दिनुभयो।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, बिषेसज्ञ समिति सदस्य जिज्ञान कुमार थापा र महिला सचिव ललिता तामाङले पनि आफ्नो विचार व्यक्त गर्दै जापानमा रहेका नेपाली समुदायको हितमा यस्ता कार्यक्रमहरू अत्यन्त उपयोगी र समयानुकूल भएको धारणा राख्नुभयो।