सोमबार, माघ ०६, २०८२

दूतावास र एनआरएनए जापानबीच द्विपक्षीय सहकार्यका लागि औपचारिक भेटवार्ता

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको प्रतिनिधिमण्डलले र नेपाली राजदूतावास, टोकियोमा राजदूत डा. दुर्गा बहादुर सुवेदी बीच औपचारिक भेटवार्ता भएको छ। दूतावास भवनमा राजदूत डा. सुबेदीको निमन्त्रणामा सम्पन्न उक्त भेटवार्ता जापानमा बसोबास गर्ने नेपाली समुदायको हित तथा नेपाल,जापान सम्बन्ध सुदृढीकरणमा केन्द्रित रहेको थियो ।

राजदूतद्वारा प्रदान गरिएको आतिथ्य, सद्भाव र निरन्तर सहकार्यका प्रयासप्रति एनआरएनए जापानले आभार प्रकट गरेको छ ।

एनआरएनए जापानले विगतदेखि नै सचेतना अभियान, आपतकालीन सहयोग तथा विविध कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा, आगामी दिनमा राजदूतावाससँग अझ नजिकबाट सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।
यस भेटवार्ताबाट दुवै पक्षबीच आपसी विश्वास, समन्वय र सहकार्यको नयाँ आयाम स्थापित भएको एनआरएनए जापानका प्रवक्ता रबिन शर्माले जानकारी दिनुभयो ।

भेटवार्तामा निम्न योजनाहरूमा सहकार्य गर्दै अघि बढ्ने विषयलाई केन्द्रबिन्दु बनाई विस्तृत छलफल गरियो।
१. जापानस्थित नेपाली समुदायका समसामयिक चुनौतीहरूमा सहकार्यका लागी पहलहरू गर्ने ।
. मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणका लागि सचेतना कार्यक्रम र परामर्श सेवा ।
. वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी प्रक्रिया, भिसा सहजता र श्रमिक अधिकारको संरक्षण।
. जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको शिक्षा, आवास र कल्याणका लागि सहयोग।
.दुर्घटना, आकस्मिक मृत्यु वा आपतकालीन अवस्थामा तत्काल सहयोगका संयन्त्र विकास।

२.समाजकेन्द्रित कार्यक्रम र संरचना सुदृढीकरणमा सहकार्य एंव दूतावास र एनआरएनए जापानबीच आवश्यक समितिहरू गठन गरी संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने सहमति भयो। समुदायको आवश्यकता अनुसार दीर्घकालीन सहकार्यलाई संस्थागत बनाउने विषयमा सकारात्मक छलफल भयो।
३. नेपाल , जापान सम्बन्ध सुदृढीकरणका सम्भावनाहरू सफल बनाउन पहल गर्ने ।
. नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन।
.पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनमा साझेदारी गर्ने ।
.शिक्षा, प्राविधिक तालिम र श्रम क्षेत्रमा अवसर विस्तार।
. जनस्तरीय सम्बन्ध प्रगाढ बनाउन दीर्घकालीन रणनीतिक साझेदारी।
. नेपाली समुदायका आकस्मिक घटनामा तत्काल संलग्नता र सहयोग, जस्तै Rapid Response Team मार्फत उद्धार तथा कानुनी सहायता।
•नेपाल र जापानबीच पर्यटन, व्यापार र लगानी प्रवर्द्धनका लागि विशेष पहल र कार्यक्रम आयोजना।