सोमबार, माघ ०६, २०८२

धादिङ समाज जापानको तीज धमाका २०२५ को तयारी अन्तिम चरणमा

टोकियो । धादिङ समाज जापानले आपतकालिन् राहतकोष सहयोगार्थ आयोजना गर्न लागेको तीज धमाका २०२५ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। अगस्ट २३ तारिख साँझ ५ बजेपछि टोकियोको नाकानो जेरो हलमा हुने कार्यक्रममा लोकप्रिय कलाकारहरू पशुपति शर्मा, पूर्णकला बिसी, राजकुमार बानियाँ, श्याम सितल र नारायणी खत्रीले प्रस्तुतिहरू दिनेछन्।

धादिङ समाज जापानका अध्यक्ष बिमल श्रेष्ठका अनुसार, परदेशमा बस्दा पनि घरदेशको संस्कृतिलाई जोगाउँदै दिदीबहिनीहरूलाई वर्षको तीज पर्व रमाइलोका साथ मनाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो।
यो कार्यक्रमलाई सांस्कृतिक उत्सव मात्र नभई एक आपसी भेटघाट र एकताको अवसरका रूपमा पनि प्रस्तुत गर्ने प्रयास गरेको बताईएको छ।

२०१३ देखि जापानमा सक्रियरुपमा क्रियाशिल धादिङ समाज जापानको वर्तमान कार्यसमितिले १० लाख येनको आपतकालिन् राहतकोष निर्माण अभियान संचालन गर्दै आएको छ।