शनिबार, बैशाख ०५, २०८३

एनआरएनए जापानको महासचिवमा खगराज गौतम (विश्वास)ले उम्मेदवारी दिने

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको महासचिव पदमा पत्रकार तथा समाजसेवी खगराज गौतम (विश्वास)ले उम्मेदवारी दिएका छन् । हाल एनआरएनए जापानको प्रवक्ताको रूपमा कार्यरत गौतमले संस्थामा पारदर्शिता र जबाफदेही नेतृत्वको विकास र संस्थालाई संस्थागत रूपमा संचालन गराउने उद्देश्यले सन् २०२५-२०२७ को लागि एनआरएनए एनसीसी जापानको महासचिव पदमा उम्मेदवारी दिएको जनाए ।

संस्थाको विधि, विधान र जापानको कानुनमा टेकेर यहाँ रहेका हरेक नेपालीहरूले विश्वास र भरोसा गर्न आगामी २ वर्षको कार्यकालमा एनआरएनए जापानलाई संस्थागत विकासको बाटोमा अघि बढाइ सामान्य भन्दा सामान्य व्यक्तिले पनि एनआरएनए जापान मेरो दुःखको पनि सुखको पनि नजिकको साथी’ भन्ने धारणा विकास गराउने नै आफ्नो मुख्य उद्देश्य रहने गौतमले बताए ।

उनले आगामी २७ जुलाईमा हुन लागेको एनआरएनए जापानको १२ औँ महाधिवेशनबाट नयाँ कार्यसमितिको महासचिव पदमा विजयी बनाउन जापानवासी सबै पञ्जीकृत सदस्यहरूलाई आग्रह गरेका छन्। विगत २५ वर्षदेखि सञ्चार कर्म, १२ वर्ष गैरसरकारी संस्थाहरूमा काम गरेको अनुभव र एनआरएनए जापानमा विगत ३ कार्यकाल बाहिर रही सहयोगीको भूमिका र हाल प्रवक्ताको रूपमा संस्थाको संस्थागत विकासमा पुर्‍याएको योगदान, अनुभव र सिकाइलाई एकमुष्ट एनआरएनए जापानको सुदृढीकरणमा योगदान प्रदान गर्न मैले महासचिव पदमा उम्मेदवारी दिएको गौतमले बताए ।

संस्थाका मौजुदा विधि, विधान नीति नियमको प्रभावकारी कार्यान्वयन गरेर हरेक नेपालीहरूले विश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन र विधानको समय सापेक्ष रूपमा विज्ञहरूको संलग्नतामा परिमार्जित गरी संघमा रहेका विभाग, कार्यदल, लगायतको प्रभावकारी परिचालनका लागि नियमावली कार्यविधि बनाउन संयोजनकारी भूमिका निर्वाह गर्न आफुले महासचिव पदमा उम्मेदवारी दिएको उनले बताए। यसै गरी “नेपाली घर हाम्रो साझा सपना हो” भन्ने सोचका साथ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले “ड्रिम प्रोजेक्ट” अन्तर्गत निर्माणाधीन ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ लाई सम्पन्न गराउन सहयोगीको रूपमा भूमिका निर्वाह गर्न पनि आफू सक्रिय रहने उनको प्रतिबद्धता छ ।