टोकियो । विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग जुटाउने उद्देश्यले कर्णाली प्रदेश समाज जापानले टोकियोमा कर्णाली साँगीतिक साँझ-२०२५ गर्ने भएको छ ।
अप्रिल २९ तारिख मंगलबार उक्त साँगीतिक कार्यक्रम गर्न लागिएको सो समाजका अध्यक्ष कृष्ण शाहीले बताउनुभयो । उक्त साँगीतिक साँझका लागि नेपालबाट लोकप्रिय कलाकारहरुको टोली आउँदो २८ तारिख सोमबार बिहान टोकियो आईपुग्ने भएका छन् । कलाकारहरुमा लोक तथा दोहोरी गायक तथा मोडल चक्र बम, लोक तथा दोहोरी गायिका इब्शल सञ्ज्याल र लोक तथा दोहोरी गायक उत्तम शर्मा लगायत छन् । नेपालबाट आमन्त्रित कलाकारहरुलाई जापानमै रहेका स्थानीय कलाकारहरुले साथ दिने भएका छन् ।
जापानको रंगमञ्चमा पहिलोचोटी हुन लागेको नितान्त नौलो, कर्णाली तथा सुदूरपश्चिम क्षेत्रका रैथाने लोकसँस्कृति र जनजीवनको चित्रण गर्ने साँगीतिक कार्यक्रममा उपस्थित भई शोभा बढाईदिन र पिछडिएको कर्णालीका विपन्न तथा लोपोन्मुख समुदायका बालबालिकाहरुको शिक्षा र स्वास्थ्यमा सहयोग जुटाउने अभियानमा साथ दिन कर्णाली प्रदेश समाज जापानले जापानबासी नेपालीहरुमा अपिल गरेको छ ।
टोकियोको इकेबुकुरोमा हुने कार्यक्रमको प्रवेश टिकट नर्मल ३ हजार येन तोकिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखा र सुदूरपश्चिमेली समाज जापान सहआयोजक रहेको ‘कर्णाली साँगीतिक साँझ’ कार्यक्रमको सबै तयारी पूरा भईसकेको कार्यक्रम संयोजक बीरेन्द्र शाहीले जानकारी दिनुभयो ।
कर्णाली साँगीतिक साँझ इकेबुकुरोस्थित सिभिक सेन्टरमा साँझ ५ बजेबाट हुने छ भने मे २ तारिख ओसाका, ३ तारिख कोबे, ४ तारिख ओकिनावा र ६ तारिख नागोयामा कार्यक्रम तय भएको समाजका महासचिव हिमप्रकाश थापाले बताउनुभयो ।