शुक्रबार, बैशाख ११, २०८३

टोकियोमा हुने १४औं नेपाल फेष्टिवल २०२४ को तयारीमा जुट्यो एनआरएनए, उपसमिति गठन

टोकियो । जापानमा नेपाललाई चिनाउन १४औं नेपाल फेष्टिवल २०२४ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान, जापानका लागि नेपाली दुतावास टोकियो जापानको आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा आगामी नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन नाकानो सिकिनोमोरी पार्कमा नेपाल फेस्टिवल गरिन लागेको एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मुल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए ।

नेपाल र नेपालीको जापानमा पहिचान, नेपालमा पर्यटकीय प्रवर्द्धन, नेपालको कला संस्कृति रीतिरिवाज परम्परालाई प्रवासमा निरन्तरता दिनका साथै मुख्य गरेर नेपाल हाउस नामक बहु सांस्कृतिक केन्द्र निर्माणार्थ सहयोग जुटाउने उदेश्यले विगतदेखि गरिँदै आएको नेपाल फेस्टिवल यस वर्ष पनि गरिन लागेको अध्यक्ष निउरेको भनाइ छ।
‘नेपालको कला र संस्कृतिलाई विश्वसामु चिनाउने र प्रवासमा रहेका नेपालीलाई ऐक्यबद्धता गर्दै नेपालीहरुको अपनत्वको अनुभूति गराउन यो फेस्टिवल एक माध्यमको रुपमा हुनेछ भन्ने विश्वास लिएको छ ।

विगतका नेपाल फेस्टिवल भन्दा केही फरक र नयापन दिने गरि चौधौ नेपाल फेस्टिवल- २०२४ को तयारीमा जुटेको चौधौ नेपाल फेस्टिवल- २०२४ का उप संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुवास लामिछानेले बताए ।
पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका कुमारी, भाक्पा, कौरा, तामाङ सेलो, थारु लगायतका हाम्रा सास्कृतिक नाचहरू मञ्चबाट प्रस्तुत गर्ने नेपाली कला संस्कृति, भेषभूषा र रितिरिवाजलाई जापानी नागरिकमा पुर्याउन र कला संस्कृतिलाई जापानमा परिचित गराउने गरी तयारी थालेका छौं उप संयोजक लामिछानेले भने- यो फेस्टिवलमा साँच्चिकै नेपालको हरेक मौलिक संस्कृतिलाई विश्व समक्ष पुर्याएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न फलदायी हुने छ।

दोस्रो पुस्तालाई नेपालको मौलिकतासँग जोड्न आग्रह
नेपाल फेस्टिवललाई प्रभावकारी बनाउनका लागि हालै आयोजना गरिएको अन्तरक्रियात्मक बैठकमा सहभागीहरुले प्रवासमा रहेको नेपाली दोस्रो पुस्तालाई नेपालको मौलिकताको बारेमा जोडने कड़ीको रुपमा विकास गराउनु पर्नेमा जोड दिएका छन् ।

फेस्टिवलमा मौलिक झाकीसहित जातीय पहिचानका झाकीलाई व्यवस्थित रूपमा प्रस्तुत गरिनुपर्ने, जापानी नागरिकको उपस्थितिसहित जापान सरकारका उच्च पदस्थ व्यक्तिको सहभागितामा जोड दिनुपर्ने, नेपाल सरकारको प्रत्यक्ष देखिने गरि सहभागिताका लागि समन्वय गरिनुपर्ने, नेपालको तराई पहाड़, हिमालको विविधतालाई जोडन सक्नुपर्ने, नेपालमा पर्यटन प्रवर्द्धन र नेपालको मौलिक पहिचानलाई केन्द्रमा राखेर नेपाल हाउस निर्माणमा सहयोग पुग्ने गरी नेपाल फेष्टिवल गरिनुपर्नेमा जोड दिएका हुन्।
नेपाल फेष्टिवलको आयोजकको सन्दर्भमा सबैको अस्तित्वलाई स्वीकार गरी अपनत्व हुने गरी गरिनुपर्ने, स्टलको व्यवस्थापन गर्दा खानाको विविधता हुने गरी गरिनुपर्ने, अनुशासनलाई विशेष ख्याल गरिनुपर्ने लगायतका महत्वपूर्ण सुझावहरु प्राप्त भएको फेस्टिवल आयोजक समितिका संयोजक तथा एनआरएनए जापानका अध्यक्ष निउरे बताए ।
१४ औ नेपाल फेष्टिवल सम्पन्न गर्नका लागि आफनो आफनो स्थानबाट सक्दो सहयोग पुर्याउनका लागि जापनबासी सम्पूर्ण संघ सस्था सरोकारवाला निकाय व्यवसायी बुद्धिजिवी, पत्रकार कलाकार एनआरएनए अभियन्ता सम्पूर्ण सर्वसाधारण नेपालीहरुले सक्दो योगदान पुर्याउने प्रतिवद्धता अन्तरक्रियात्मक बैठकमा व्यक्त गरेका थिए।

फेष्टिवल सम्पन्न गर्न विभिन्न समिति गठन
चौधौ नेपाल फेस्टिवल- २०२४ आन्तरिक तयारी कार्य भइरहेको बारेमा आवश्यक जानकारी दिँदै एनआरएनए जापानका महासचिव तथा चौधौ नेपाल फेस्टिवल- २०२४ आयोजक समितिका सदस्य सचिव टिकाराम खरेलले फेस्टिवल व्यवस्थित रुपमा उद्देश्य अनुरूप सञ्चालनका लागि विभिन्न उपसमिति गठन गरिएको बताए ।
एनआरएनए जापानको बैठक तथा सरोकारवाला निकायसँगको परामर्शमा संयोजक नविन निउरे उप संयोजक सुवास लामिछाने र योशीहारु कोमियामा, सदस्य सचिव टिकाराम खरेल, कोष तथा लेखा व्यवस्थापन दिपक सुनार र प्रवक्ता खगराज गौतमलाई जिम्मेवारी प्रदान गरिएको सदस्य सचिव खरेलले जानकारी दिए।
सचिव खरेलका अनुसार स्टल व्यवस्थापन उप समिति संयोजक सचिन श्रेष्ठ, प्रचार प्रसार उप समिति संयोजक देवराज उप्रेती आर्थिक संयोजन उप समिति संयोजक कृष्ण शर्मा गैरे सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन उप समिति संयोजक सिद्धार्थ श्रेष्ठ, जापानी सरकारी, संघ संस्था समन्वय उप समिति संयोजक कमल बास्तोला, सुरक्षा तथा स्वयम् सेवक परिचालन उप समिति संयोजक सागर कार्की कान्तो क्षेत्रिय समिति अतिथि सत्कार उप समिति संयोजक अन्जु भण्डारी, डकुमेन्द्री तथा फोटो प्रदर्शनी उप समिति- संयोजक डा एलिजा केसी भण्डारी र प्रमुख संरक्षकमा शिवप्रसाद पौडेललाई चयन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ।
निःशुल्क प्रवेश रहने फेस्टिवलमा विभिन्न कलाकारहरुको समेत प्रस्तुति रहने बताइएको छ ।