टोकियो । जापानको इतावासी नगरपालिका तथा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले संयुक्त रूपमा आयोजना गरेको मोना इतावासी नेपाल दुई दिवसीय फेस्टिवल भव्य रूपमा सम्पन्न भएको छ।
फेस्टिवलमा हजारौं नेपाली तथा जापनिज नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली कला, संस्कृति एवम् पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक एवम् गन्तव्यहरूको बारेमा जापानी समुदायकाबीच प्रवर्द्धन गर्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको फेस्टिवलको पहिलो र दोस्रो दिन विभिन्न झाँकीसहित कार्यक्रम स्थल परिक्रमा गरिएको थियो ।
जापानिज गीत संगीत र नेपाली गीत संगीतमा कलाकारहरूले दिएको प्रस्तुतिले फेस्टिभल संगीतमय बन्यो । जापानका चर्चित रेस्लरहरुले रेस्लिङ खेल प्रस्तुत गरेका थिए, जुन आकर्षणको केन्द्रबिन्दु बन्यो । धिमे नृत्य तथा तमु धिका कलाकारको प्रस्तुति अर्को आकर्षणको केन्द्र बनिरहँदा थाली नृत्यले माहोललाई तताएको थियो ।
फेस्टिवल संयोजकद्वय ज्ञानेन्द्र कार्की र सुजुकी ताकुयाको स्वागत मन्तव्य रहेको कार्यक्रमना बोल्दै प्रमुख अतिथि सकामातो ताकामासीले नेपाली समुदायसँग मिलेर पहिलो पटक कार्यक्रम आयोजना गरेको बताउँदै भविष्यमा पनी सहकार्य गर्ने बताए । विदेशीको संख्या बढ्दै गएको बताउँदै त्यसमध्ये नेपालीहरू तेस्रो स्थानमा रहेको बताए । दुई देशबीचको सम्बन्ध र संस्कृतिको आदान-प्रदान गर्न कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ताकामासीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे ।
समुद्घाटन समारोहअघि घुम्टे नौमती बाजा समूह, धौलागिरी भजन समूह, मोहन ड्रागन महर्जन समूहको नेवारी संस्कृतिमा आधारित लाखे नृत्यसहितको झाँकी, नेपाल आदिवासी जनजाति महासंघ जापानका विभिन्न जातजातिका भेष भूषा र संस्कृति झल्कने सांगीतिक प्रस्तुतिसहितको झाँकीले फेस्टिभल स्थल परिक्रमा गरेका थिए । प्रत्यक्ष दोहोरी, जापानिज बालिकाहरूको नाच, १२-१५ वर्ष उमेर समूहका बालबालिकाले जापानको पुरानो मौलिक धुन, धिमे बाजा, लाखे नाच, कार्यक्रमको समापन पूर्व म्याग्देली सालैजो गायन र हजारौंको उपस्थितिले म्याग्दी महोत्सवको झल्को दिएको थियो । संघ जापानका अध्यक्ष तथा कार्यक्रमका सभापति विशाल केसीले नगरपालिकासँग सहकार्य गरेर कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए ।
आइतबार साँझ समापन गरिएको फेस्टिवल सहभागी जनाउन कतार, कोरिया, नेपाल तथा हङकङदेखि पाहुनाहरू जापान आइपुगेका थिए । समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत अम्बिका जोशी, मोना आईसीका अध्यक्ष ददिवल खड्का, इभेन्ट पार्टनर रोबिन शेरचन, एनआरएन जापानका अध्यक्ष नवीन निउरे, मोनाका आईसीका संस्थापक अध्यक्ष प्रकाश पुनलगायतले शुभकामना मन्तव्य दिएका थिए । मोना जापानले फेस्टिवल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यबाद तथा आभार प्रकट गरेको छ ।