टोकियो । पछिल्लो समयमा जापान आउने नेपालीहरुको संख्या बढिरहेको छ । १ लाख ७६ हजार भन्दा बढीको संख्यामा नेपालीहरु जापानमा रहेपनी हिन्दूहरुको निमित्त पूजापाठ तथा दर्शनको निमित्त मन्दिर नहुँदा धर्मप्रति आस्थावान धेरैले आवश्यकताको महसुस गरेका थिए।
मन्दिर निर्माणको निमित्त बेलाबेलामा चर्चा भइरहे पनि त्यसले पूर्णता पाएको थिएन।
जापानमा रहेका नेपालीहरुले हालसम्म सामूहिक रुपमा विभिन्न चाडपर्व मनाउनु परे वा पुजाआजा गर्नु परेको खण्डमा स्थानीय रेष्टुरेन्टको हललाई भाडामा लिई प्रयोग गर्दै आइरहेका छन्। यसै समस्यालाई मध्यनजर गर्दै मन्दिर निर्माण अभियान सुरु गरिएको व्यवसायी दीपक सुवेदीले बताउनुभयो।
उक्त अभियानको सुरुवात गर्दै आफ्नो तर्फबाट १ करोड जापानी येन सहयोग गर्ने प्रतिबध्दता व्यक्त गर्नुभएको छ। मन्दिर निर्माणपछि नेपालबाट संस्कृतमा उच्च ज्ञान प्राप्त गर्नु भएका धार्मिक गुरुहरु र पुरोहितलाई बोलाई दैनिक पुजा-पाठ, भजन-किर्तन र विभिन्न चाडपर्वको समयमा यज्ञ आयोजना गरिने र दानपेटिका मार्फत प्राप्त सहयोगलाई नेपालमा रहेका दु:खि तथा गरिब लाई सहयोग गर्न सकिने बताउनुभयो।
बाग्लुङ जिल्ला विहुँकोटका दीपक सुवेदी हाल जापानलाई कर्मभूमि बनाएर व्यवसाय गरिरहनुभएको छ। रेष्टुरेन्ट व्यवसाय तथा रेस्टुरेन्टमा आवश्यक खाद्य सामाग्रीको विक्री वितरणमा सक्रिय सुवेदी सफल व्यवसायीको रुपमा नेपालीमाझ परिचित हुनुहुन्छ।
२५ वर्ष अघि जापान प्रवेश गरेर रेष्टुरेन्ट व्यवसाय सुरु गर्नुभएका सुवेदीले खाद्यान्नको थोक बिक्रेता एवम् हालसम्म २० वटा रेष्टुरेन्ट सञ्चालन गरिरहनुभएको छ।
सफल व्यवसायीको पहिचान निर्माण गर्दै सयौँ लाई रोजगारी सिर्जना गर्न सफल व्यवसायी तथा सामाजिक व्यक्ति दिपवे जापानका प्रमुख एवं दिपवे फाउन्डेसनका संस्थापक दिपक सुवेदीलाई जापानमा भएको चैत्राष्टमी मेलामा पहिलो बाग्लुङ रत्नको रुपमा सम्मान गरिएको थियो।
बाग्लुङ समाज जापान र बिहुँकोट समाज जापानद्वारा आयोजित कार्यक्रममा मन्दिर निर्माण अभियान घोषणा गर्नुभएको हो।
मन्दिर निर्माण अभियानमा जापानमा रहेका अधिकांश नेपालीहरु सकारात्मक रहेका छन् भने धेरैको मौखिक रुपमा सहयोगको लागि प्रतिबध्दता आउने काम भइरहेको छ।