आइतबार, बैशाख १६, २०८१

जापानको ओकिनावामा अप्रिल १३ मा हुने कर्णाली फेस्टिवलको तयारी तीव्र

जापान । कर्णाली प्रदेश समाज जापान ओकिनावा क्षेत्रिय समिति लको आयोजना र नेपाली राजदूतावास जापानको सहकार्यमा ओकिनावामा नेपाल कर्णाली फेस्टिवल २०२४ को तयारी तीव्र बनाएको छ ।
नेपालको मौलिकता र ऐतिहासिक सभ्यता बोकेको सुन्दर कर्णालीलाई प्रचारप्रसार गर्ने उद्देश्य सहित जापानको ओकिनावामा नेपाल कर्णाली फेस्टिवल आयोजना गरिने भएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा अपार पर्यटनको सम्भावना बोकेको अपर डोल्पा, रारा ताल, फोक्सुण्डो लेक, साइपाल, कान्जिरोवा, धौलागिरी हिमाल श्रृंखलाहरु सहित आन्तरिक पर्यटनको केन्द्रमा रहेका काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल, शहिद पार्क, घण्टा घर, गोठीकाँडा लगायत क्षेत्रहरुलाई ओकिनावा कर्णाली फेस्टिवलमा प्रचारप्रसार गरिने आयोजक नेपाल कर्णाली महोत्सव २०२४ कार्यक्रमका संयोजक भिम प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

फेस्टिवलमा मुख्यतया नेपाली भाषाको उद्गम थलो सिंगा उपत्यका, कर्णाली क्षेत्रका भाषा, भेषभुषा, कला संस्कृती र सांस्कृतिक विविधताको प्रचार गरिने लक्ष्य राखिएको न्यौपानेले जानकारी दिनुभयो ।
आगामी अप्रिल १३ तारिख शनिवार नेपाल ओकिनावा फेस्टिवल २०२४ नाहा शहरको माएजिमामा रहेको तोमारी पार्कमा आयोजना हुँदैछ ।

फेस्टिवलको माध्यमबाट कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर, कला, साहित्य र पर्यटनलाई जापानीमाझ प्रबर्द्धन गर्न सफल हुने विश्वास फेस्टिवल आयोजकले लिएका छन् । फेस्टिवलमा १ हजार जापानी नागरिकहरु, ओकिनावा क्षेत्रमा रहेका अन्य देशका नागरिकहरु सहित ५ हजार व्यक्तिको प्रत्यक्ष सहभागीता गराउने लक्ष्य सहित प्रचारप्रसार थालिएको नेपाल ओकिनावा फेस्टिवल २०२४ कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनुभयो ।