शुक्रबार, बैशाख ११, २०८३

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ताका लागि आग्रह गरेको उत्तर कोरियाले जनाएको छ ।

उत्तर कोरियाली नेता किमकी बहिनीले जापानी प्रधानमन्त्री किशिदाले आफ्ना दाइसँग शिखर वार्ता गर्न अनुरोध गरेको सोमबार पुष्टि गरेकी हुन् ।

लामो समयदेखि चलिरहेको अपहरण विवाद र उत्तर कोरियाको प्रतिबन्धित हतियार कार्यक्रमसहित दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा तनावपूर्ण छ तर किशिदाले हालै सम्बन्ध सुधार गर्ने इच्छा व्यक्त गरेका छन् । प्योङयाङले जापानी प्रधानमन्त्री किशिदाको आग्रहबारे कुनै औपचारिक प्रतिक्रिया दिइनसकेको जनाएको छ ।

गत वर्ष किशिदाले उत्तर कोरियाली समूहले सन् १९७० र १९८० को दशकमा जापानी नागरिकको अपहरण गरेको घटनालगायत सबै समस्या समाधान गर्न टोकियो इच्छुक रहेको भन्दै आफू बिनाशर्त किमसँग भेट्न तयार रहेको बताएका थिए ।

उत्तर कोरियाली समाचार संस्था (केसीएनए) ले उत्तर कोरियाली नेता किम यो जोङले जारी गरेको विज्ञप्तिलाई उदृत गरी लेखेको छ, “प्रधानमन्त्री किशिदाले उत्तर कोरियाली नेता किमसँग जतिसक्दो चाँडो व्यक्तिगत रूपमा भेट्ने आफ्नो इच्छा व्यक्त गर्नुभएको छ ।”

उत्तर कोरियाली नेता किम यो जोङले गत महिना जापानी नेतालाई उत्तर कोरिया भ्रमणका लागि प्योङयाङले निमन्त्रणा दिन सक्ने सङ्केत गरेका थिए ।