टोकियो । प्रेस सेन्टर नेपाल जापान शाखाको टोकियोमा प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आईतबार टोकियोमा सम्पन्न अधिवेशनले सन्दिप सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गर्दै प्रथम अधिवेशन सम्पन्न गरेको हो।
समितिको उपाध्यक्षद्वयमा उत्तम पण्डित र कान्ता गिरी, सचिवमा बिनोद ढकाल, कोषाध्यक्षमा बिमन किराँती, सहसचिवमा कुमारी बुढा मगर चयन भएका छन् । यसैगरी सदस्यहरुमा सञ्जय देवकोटा, कृष्ण गुरुङ, मनिष खनाल, मुकेश पनेरु, अशोक दवाडी, अमर लामा, अरुण राई, सुबिन न्यौपाने र अनुपम खड्का चयन भएकाछन् ।
अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले समाज रुपान्तरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने विचार ब्यक्त गर्नु भयो । त्यसका लागि पत्रकारहरुले सँधै रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोड दिए । राजदूत डा. सुबेदीले सञ्चारजगत नेपाली समुदाय र राजदूतावासबीचको अनि घरदेश र परदेशबीचको पुल बन्न सक्नुपर्नेमा जोड दिए ।
अधिवेशनको उदघाटन सत्रमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले भर्च्युअल सम्बोधन गर्दै प्रेस सेन्टर नेपालले निकट भविष्यमै पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि डिजिटल प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको बताए । उनले वैचारिक चिन्तनका हिसाबले कुनै दलविशेषसंग निकट भएता पनि पत्रकारिताको धर्मबाट कुनै पनि पत्रकारहरु विचलित हुन नहुने विचार ब्यक्त गरे । यसैगरी प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिका उपाध्यक्ष तिलक मल्लले नागरिकमा सूचनाको हक र पहुँच बिस्तार गर्दै शान्ति, समृद्धि र अग्रगमनका लागि जनपक्षिय पत्रकारितामा जोड दिन प्रेस सेन्टरको जापान शाखाको गठन गर्नुपरेको बताए ।
नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरीले पत्रकारहरुको हक, हित र दक्षता अभिबृद्धि एवं पत्रकारहरुको जायज मुद्दाको पक्षमा प्रेस सेन्टरसंग महासंघले सँधै सहकार्य गर्दै अगाडि बढ्ने धारणा ब्यक्त गरे ।
अधिवेशन समारोहमा नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने, डा. भूपालमान श्रेष्ठ र भवानी पन्त,कालिका थापा, श्यामहरि पाण्डे, पत्रकार गोकर्ण अधिकारी,सुनिल देवकोटा, रञ्जित गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए । बोल्ने वक्ताहरुले पत्रकारहरुले सत्य, तथ्यमा आधारित सूचना संप्रेषण गर्नुपर्ने धारणा ब्यक्त गर्दै पत्रकारहरु कसैको स्वार्थमा उपयोग हुन नहुनेमा जोड दिएका थिए ।
कार्यक्रममा अधिवेशन आयोजक समितिका संयोजक सन्दिप सुनारको सभापतित्वमा उपसंयोजक बिनोद ढकालको स्वागत मन्तब्य रहेको थियो भने समितिका सदस्य बिमन किरातीको सञ्चालन रहेको थियो ।

