आइतबार, बैशाख १६, २०८१

यौन दुव्र्यवहारका ९९ वटा आरोप खेपिरहेका जापानका मेयरद्वारा राजीनामा

सामाजिक सञ्जालमा यौन उत्पीडनको ९९ वटा आरोप खेपिरहेका जापानी मेयरले शुक्रबार राजीनामा दिएका छन् । एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि सहकर्मीको स्तन र नितम्ब छुनेलगायत विभिन्न उत्पीडनका कार्यहरू गरेको आरोप लगाएको छ ।

पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि बिहीबार ७४ वर्षीय कोजिमाले राजीनामा दिने बताएका थिए ।

उनले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गरेका छन् । जसमा उनले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ ।

उनले भने, “मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।” “प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरूले थप सावधानीपूर्वक अनुसन्धान गरून्,” उनले भने ।

प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताए । रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारहरूले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरू गर्ने र कर्मचारीहरूलाई झुक्न लगाउनेजस्ता कार्यहरू गर्ने गरेको’ आरोप लगाइएको छ ।

मङ्गलबार आफ्नो पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिक रूपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन । साप्ताहिक शुकान बुनशुन पत्रिकामा प्रकाशित समाचारपछि सुरु गरिएको अनुसन्धानमा मेयरले महिला कामदारको टाउकोमा पटकपटक छुने गरेको उल्लेख छ । कोजिमाले यसलाई ‘कृतज्ञता व्यक्त गर्न’ का लागि गरिएको कार्य बताएका छन् ।

छानबिनका क्रममा समितिले कोजिमा नगरपालिकाका १९३ जना कामदारबीच सर्वेक्षणसमेत गरेको थियो । सर्वेक्षणमा सहभागी १६१ जनामध्ये ५३ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले मेयरले आफूलाई असहज महसुस गराउने काम गरेको बताएका थिए ।

जापानमा विश्वव्यापी बनिसकेको ‘मिटू आन्दोलन’ले गति लिएको थिएन । यहाँ धेरै पीडितहरू अगाडि आउन निकै डराएका छन् तर पछिल्लो समय एकाध उच्च–ओहोदासँग सम्बन्धित मुद्दाहरू सार्वजनिक हुन थालेका छन् ।