जापान । तमु धीं जापानको २० औं अधिवेशन र नयाँ कार्यसमिति चयनको विषयलाई लिएर भएको विवाद बाहिरिएको छ । फागुन ४ गते अर्थात् फेब्रअरी १६ तारीख केहि पुर्वपदाधिकारी तथा उम्मदेवारहरुले प्रेस विज्ञप्ति निकालेर असन्तुष्टी व्यक्त गरेका छन् ।
अधिवेशनमा कोषाध्यक्ष पदका उम्मेदवार लिल (नमस्ते) तमुले विज्ञप्ती प्रकाशित गर्दै संस्थाको साँगठानिक प्रतिवेदन र लेखा सम्बन्धि अभिलेख अधिवेशनको बन्दसत्रमा समेत प्रस्तुत नगरेको आरोप लगाउदै अधिवेशनको मर्मलाई अमर्यादित तरिकाले मानोमानी ढंगले निर्वाचन मण्डलका संयोजकले एकलौटी हस्तक्षेपकारी ढंगले बन्दसत्रलाई अगाडी बढाएर कुनै पनि आचारसंहिता पनि नबनाई विभिन्न पदहरूमा परेको उम्मेदवारहरू माथि केही सुनुवाई नगरी नयाँ कार्यसमिति बाहिर ल्याएकोमा आपत्ति जनाएका छन ।
निर्वाचन आयोजक समितिका संयोजक गिरी प्रसाद गुरूङ र तत्कालीन अध्यक्ष रमेश कुमार तमुले आफ्नो खल्तीबाट कार्यसमितिको नामावाली निर्वाचन समितिलाई बुझाएर नयाँ कार्यसमिति गठन गरेको प्रति असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार रहेका जिवन तमु, पुर्व महासचिव तथा तत्कालीन उपाध्यक्ष चित्र तमु, तत्कालीन महासचिव खेम तमु, सहकोषाध्यक्ष टम प्रसाद तमु, युवराज तमु, मोती तमु, महेन्द्र तमु, चन्द्र तमु, प्रकाश तमु, सिता तमु, सुजन तमु, प्रिती घोताने तमु लगायतको समर्थनमा विज्ञप्ति प्रेसित गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ कार्यसमिति गठन गरिएको यो प्रकया अवैधानिक अलोकतान्त्रिक संस्थाको विधि, विधान र नीतिनियम विपरीत गई सबै जापानवासी तमुहरुलाई समेट्न नसकेको र केहि व्यक्तिहरुले संस्था कब्जा गरेकाले २४ घण्टे समयसिमा दिएर निर्वाचनको प्रकिया पुन: विचार गर्न अपील गरेको थियो ।
जापानमा ३ दशकको इतिहास बोलेको संस्थामैं एक भएरअघि बढ़न निर्वाचन समितिका संयोजक अध्यक्ष गिरीप्रसाद गुरूङले अनुरोध गरेका छन । मातृसन्देश डटकम संगको संक्षिप्त कुराकानीमा गुरूङले आन्तरिक रूपमा केहि असन्तुष्ट होला तर घर भित्रको समस्या भित्र बसेर समाधान गर्न अपील गर्नु भयो ।
त्यस्तै तमु धीं जापानका तत्कालीन अध्यक्ष रमेश कुमार तमुले सबैलाई पद चाहिने पद नपाएसी विवाद निकालेको र संस्थामा विधान अनुसार नयाँ आउनेलाई पदाधिकारीमा लिउन नसकिने बताउनु भयो ।
प्रेस विज्ञप्ति निकालेको २४ घण्टासम्म केहि सुनुवाई नभएकोले जापानमा बृहत तमुहरूको भेला गर्नुको कुनैं विकल्प नरहने असन्तुष्ट पक्षका युवराज तमुले मातृ सन्देशलाई बताए ।

