शुक्रबार, बैशाख ११, २०८३

नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले २०औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने, तयारी तीव्र

टोकियो । जापानमा क्रियाशिल नेवाःहरूको संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापान(NIFJ) स्थापना भएको २०औं वर्ष पुगेको छ ।
संस्था स्थापनाको २०औं वर्षगाँठको उपलक्ष्यमा फेब्रुअरी १७ तारिक शनिवार टोकियो स्थित मेगुरो कुमिन सेन्टर हलमा भब्य कार्यक्रम आयोजना हुँदैछ ।
जापानका लागि नेपालका महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा NIFJ स्मारिका बिमोचन, नेवाः समुदायबाट जापानको विभिन्न क्षेत्रमा योगदान दिनुहुने व्यक्तिहरूको सम्मान, स्थानीय कलाकारहरूको झाँकी र सांस्कृतिक नाचगान सहितको सांगितिक कार्यक्रम हुने संस्थाको अध्यक्ष बालकृष्ण डंगोलले जानकारी दिनुभयो ।
कार्यक्रमलाई अझ रोमान्चक र भब्य बनाउनको लागि उदयमान कलाकार रोजमान महर्जन र निशा देसार पनि नेपालबाट आउने जानकारी संस्थाको महासचिव शिव तण्डुकारले दिनुभएको छ। जापानमा नेवाः चाडवाड मनाउने, आफ्नो कला सांस्कृतिक जोगाउँदै जापानिज लगायत नयाँ पुस्तालाई चिनाउने, जापानलाई कर्म भुमि बनाएर बसोबास गरेका नेवाःहरूलाई एकिकृत गर्दै जाने प्रमुख उदेश्य सहित सन् २००३ मा यो संस्था स्थापना भएको थियो । स्थापनाकाल देखि म्ह पुजा, बुद्ध जयन्ति, क्वाति पुन्ही कार्यक्रम गर्दै आएको छ भने समय समयमा सामुहिक बेल विवाह (ईही) र ब्रतबन्ध पनि गरेको छ । त्यस बाहेक जापानमा भैपरी आएको घटनाहरूमा नैतिक तथा आर्थिक सहयोग, नेपालमा भुईचालो गएको बेला आर्थिक तथा जिन्सी सहयोग, आर्थिक स्थिति कमजोर भएको करण रोगको उपचार गर्न असमर्थ व्यक्तिहरुको लागि सहयोग आर्थिक सहयोग, बिपन्न तथा जेहेन्दार बालबालिकाहरूलाई पठनपाठनको लागि आर्थिक सहयोग, कोरोना महामारीमा मेडिकल इक्युपमेन्ट र आर्थिक सहयोग गरी आफ्नो सामाजिक दायित्व पनि पुरा गर्दै आएको छ ।
जापानमा आयोजना गरिने नेपाल फेष्टिबलमा नेवाः नाचगान र झाँकी प्रस्तुत गरी जापानी लगायत अन्य समुदायको व्यक्तिहरूलाई नेपालको पहिचान देखाउन सधै अग्रसर रहने संस्थाको रूपमा परिचित छ नेवा: अन्तर्राष्ट्रिय फोरम जापान(NIFJ) ।
आफ्नो स्थापनाकालको २० औं वार्षिक कार्यक्रममा जापानमा रहुनुहुने सबै संघ संस्थाको प्रतिनिधि लगायत सम्पुर्ण व्यक्तिहरूलाई गरिमामय उपस्थितिको लागि संस्थाको अध्यक्ष डंगोलले हार्दिक अनुरोध गर्नुभएको छ ।