टोकियो । एनआरएनए जापानले सिजुओकामा राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समिति बिचको सम्बन्धलाई सुमधुर, प्रगाढ बनाइ समन्वयात्मक र सहकार्य गर्न आइतबार भेला सम्पन्न गरेको छ।
कार्यक्रममा एनआरएनए जापान अन्तर्गत रहेका १२ वटा क्षेत्रीय समितिहरूले यस कार्यकालमा गरेका कार्य, आगामी दिनमा गरिने योजना राखेका थिए।
भेलामा एनआरएनए जापानमार्फत जापानबासी नेपालीको हक हित र नेपालको चिनारीलाई थप उचाइमा पुर्याउनका लागि एनआरएनएको भूमिका र गरिनुपर्ने गतिविधिका बारेमा केन्द्रीत रहेर प्रस्तुतिकरण सहितको अन्तर्क्रिया भएको प्रवक्ता खगराज गौतमले जानकारी दिए।
नेपालको चिनारी र पर्यटन प्रवद्रर्धनमा एनआरएनए जापानले खेल्ने भूमिका, एनआरएनए एनसीसी र एनआरएनए एलसीसीको अन्तर सम्बन्ध र सहयोग आदानप्रदानको प्रणालीको बारेमा स्पष्टता सहकार्यको आवश्यकता, औचित्य र त्यसपछि गरिनुपर्ने भूमिकासहितको जिम्मेबारीका बारेमा साझा बुझाई कायम गरि त्यसको कार्यान्वयन गर्न योजनाबद्ध कार्यक्रम बनाउन क्षेत्रीय भेला २०२४ कोशेढुंगा सावित भएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेको ठम्याई छ।
भेलामा क्षेत्रीय समितिमा भए गरेका गतिबिधि, आगामी कार्ययोजना आवश्यक सुझावसहित प्रस्तुतिकरण गरेका थिए।
क्षेत्रीय समितिले आफ्नो प्रस्तुतिकरणमा एनआरएनए एनसीसीको विधानमा नै क्षेत्रीय समितिका बारेमा स्पष्ट काम कर्तव्य र अधिकार तोकिनु पर्ने, क्षेत्रीय समितिलाई अनुशिक्षणका कार्यक्रम सञ्चालन गरिनुपर्ने, सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनु पर्ने, प्रत्यक्ष नेपाली समुदायलाई सकारात्मक प्रभाव पार्ने कार्यक्रमको तर्जुमा गरिनु पर्ने, दुतावासको सेवालाई अझ प्रभावकारी बनाउन आवश्यक समन्वय गरिनुपर्ने, विधानको समय सापेक्ष परिमार्जन गरिनुपर्ने, सकेसम्म सम्पूर्ण क्षेत्रमा दुतावासको समन्वयमा घुम्ती सेवा सञ्चालन गरिनुपर्ने, जापानका सरकारी निकायसंग समय समयमा अन्तर्क्रियात्मक कार्यक्रम गरिनुपर्ने लगायतका सुझाव आएको प्रवक्ता गौतमले बताए ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए आइसिसी सदस्य बाबुराम खरेलले गरेका थिए । एनआरएनए आईसीसीको विवादले जापानबाट प्रतिनिधित्व गर्ने एनआरएनए आईसीसी उपाध्यक्ष रविन शेरचन, युवा उपाध्यक्ष रोशन थापा तथा वर्तमान कोषाध्यक्ष तथा राष्ट्रीय समिति जापानका पूर्वअध्यक्ष सुदन थापा लगाएतको भने उपस्थित रहेको थिएन । एनआरएनए जापानले आईसीसी किटान नगरी गरिएको क्षेत्रीय भेलाले राष्ट्रीय समिति र क्षेत्रीय समिति बीचको भाईचारा र एकअर्का बीच परिचयात्मक भने हुन पाएको छ ।
क्षेत्रीय समिति सिजुओकाको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रममा कलाकारहरुद्वारा नृत्य समेत प्रस्तुत भएका थिए।
एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षतामा महासचिवन टिकाराम खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।


