शुक्रबार, बैशाख ११, २०८३

टोकियोमा हुने सोनाम ल्होछार सांगितिक कार्यक्रम २०२४ को तयारी तीव्र

जापान । नेपाल तामाङ समाज जापान केन्द्रीय समितिले टोकियोमा आयोजना गरेको सोनाम ल्होछार सांगितिक कार्यक्रम २०२४ को तयारी तीव्र बनाएको छ । मञ्जुश्री संवत् २८६० औँ डुक ल्हो मुला पुख्री वर्ग सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम २०२४ फेव्रुवरी ११ तारिखमा मनाउने भएसंगै तयारीलाई तीव्रता दिएको हो ।

नेपालका विभिन्न ठाउँबाट आएर जापानलाई आफ्नो कर्मथलो बनाएका तामाङ समुदायको प्रतिनिधि संस्था नेपाल तामाङ समाज जापान एनपीओ होउजिनले हरेक वर्षहरूमा झैँ यसपाली पनि आफ्नो मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नको साथै राज्यको हरेक अङ्गमा समान सहभागिता जनाउन पनि नयाँ वर्ष उत्सवको रूपमा विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको समाजका अध्यक्ष कर्साङ तामाङले जानकारी गराउनुभयो ।

समाजको नियमित बैठकले नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू प्रकाश तिदुङ, मनमाया वाइबा, सुमिना लो, पूजा तामाङ र स्थानीय कलाकारहरुको साथमा आगामी ११ फेब्रूवरी २०२४ आइतबारको दिन जापानको टोकियोमा रहेको WARP सिन्ज्यकुमा संस्थागत रूपमा मनाउने निर्णय भएको समाजले जनाएको छ ।

समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष ल्होछार कार्यक्रम मनाउँदै आइरहेको र यसवर्ष पनि भव्य सांस्कृतिक कार्यक्रम सहित टोकियोमा भव्यताका साथ मनाउने तयारी थालेको र कार्यक्रममा उपस्थितको लागि जापानवासी नेपालीहरुलाई उपस्थितको लागि महासचिव तेज बहादुर थिङले अनुरोध गर्नु भएको छ।