शुक्रबार, बैशाख ११, २०८३

किरात राई यायोक्खा जापानको अध्यक्षमा बिधान राई चुनिए

जापान । किरात राई यायोक्खा जापानको दोस्रो ऐतिहासिक महाधिवेशन सम्पन्न भएको छ ।
किरात राई यायोक्खा जापानको दोस्रो ऐतिहासिक महाधिवेशनबाट बिधान राईको
अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
डिसेम्बर १७ तारिख आइतबार फुनाबासी सी किनरो सिमिन सेन्टर हलमा दिउँसो १ बजेबाट साँझ अबेरसम्म भएको महाधिवेशनमा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि भएको निर्वाचनमा प्रत्याशी प्रमिला राईलाइ पछि पार्दै अध्यक्ष पदमा बिधान राई विजयी भएको थिए ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रोशन राई, उपाध्यक्षहरुमा सुदन राई, परिता राई, महासचिवमा शिवराज राई उपमहासचिवमा वसन्त पुमा राई, प्रदीप राई कोषाध्यक्षमा सोम राई, सह कोषाध्यक्षमा सोनाम राई र सदस्यमा विमला राई निर्बिरोध चयन भएका छन् । ‍सदस्य पदमा चाँडै थपेर पूर्ण कार्यसमिति बनाउने तयारी भइरहेको नव निर्वाचित अध्यक्ष बिधान राईले जानकारी दिए।

किरात राई यायोक्खा, नेपालका अध्यक्ष जीवन हताचो राईको प्रमुख आतिथ्यमा (जुम मार्फत), नेफिन जापानका उपाध्यक्ष प्रमिला गौचनको विशेष आतिथ्य र महाधिबेशन आयोजक समितिका संयोजक बिधान राइको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जापानमा रहेका किराँती तथा गैर किराँतीहरुको उप‍स्थिति रहेको थियो ।

कार्यक्रमलाई आकर्षक बनाउन उपस्थित कलाकारहरुले साकेला तथा अन्य साङ्गीतिक प्रस्तुतिहरू देखाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।

२०१३ सालमा स्थापना भएको किरात राई यायोक्खा, जापानले स्थापना कालदेखि नै किरात राईहरूको भाषा, लिपी, भेषभुषा, धर्म, संस्कार, संस्कृतिको संवर्द्धन र प्रवर्द्धन सहित विभिन्न संघ संस्थाहरूसँग हातेमालो गर्दै आइरहेको छ ।