शुक्रबार, बैशाख ११, २०८३

गलकोट समाजले जापानको ३ शहरमा साँगीतिक धमाका २०२४ कार्यक्रम गर्ने

जापान । गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्ष अवसरमा नेपालका चर्चित कालकारको प्रस्तुति रहने गरि साँगीतिक धमाका २०२४ कार्यक्रम गर्ने भएको छ।
समाजको स्थापनाकाल देखि नै अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साँगीतिक कार्यक्रम गर्दै आएको समाजले नयाँ वर्ष २०२४ को अवसरमा जापानको मुख्य ३ शहरमा संगीतिक धमाका गर्न लागेको हो ।
पछिल्लो समय नेपालमा चर्चित कलाकार खेम सेन्चुरी, लाइभ दोहोरीमा जमेका रेशम निर्दोश र अर्की चर्चित कलाकार अमृता नेपालीको प्रस्तुति रहने गरि साँगीतिक धमाका-२०२४ गरिन लागेको महासचिव लक्ष्मण कार्कीले जानकारी दिए।

“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्वृद्ध गराऔ” भन्ने भावनाका साथ हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम अङ्ग्रेजी नयाँ वर्ष २०२४ मा जापानका विभिन्न ३ शहरहरूमा नेपालबाट आमन्त्रित कलाकारहरुको साथमा गर्नका लागिएको हो।’ महासचिव कार्कीले भने- “सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने गरि आर्थिक संकलन होस् भन्ने मनसायका साथ “शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ अक्षयकोष वृद्धि” का लागि जापानका मुख्य शहरहरु ओसाका,नागोया र टोकियोमा हरेक वर्ष जस्तै साँगीतिक धमाकाका कार्यक्रम हुनेछन।
गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भएको गल्कोट समाज जापानले अंग्रेजी नया बर्ष २०२४ को अवसरमा नेपालदेखि ख्याती प्राप्त कलाकार आमन्त्रण गरि २०२३ डिसेम्बर ३१ ओसाका,२०२४ जनवरी १ नागोया र जनवरी २ मा टोकियोमा समाजका क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा
कार्यक्रम गरिने समाजका प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।

कार्यक्रमलाई क्षेत्रीय समितिले अपनत्व लिने गरि व्यवस्थापकीय भूमिका निर्वाह गर्नका लागि समाजका उपाध्यक्ष डिला गैरेलाई कान्तो क्षेत्रीय समिति, उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई नागोया क्षेत्रीय समिति र रामप्रसाद गैरे गौरीलाई कान्साई ओसाका क्षेत्रीय समितिको संयोजन गर्ने जिम्मेवारी सहित कार्य विभाजन गरिएको समाजकी अध्यक्ष कालिका थापाले जानकारी दिइन्।