शुक्रबार, बैशाख ११, २०८३

दूतावासको नागोयामा घुम्ती शिविर : ५९७ जना सेवा लिदा ९६ लाख राजश्व संकलन

जापान । जापानस्थित नेपाली राजदूतावासले आफ्नो सेवा प्रदान गर्ने उद्देश्यले नागोयामा गरेको घुम्ती शिविरमा ५९७ जना नेपालीले विभिन्न सेवा लिएका छन् । जसमा पासपोर्टसँग सम्बन्धित सेवा लिनेहरु अत्यधिक रहेका छन् ।
राजदूतावासले दिएको जानकारी अनुसार नागोयाको शिविरमा ५३१ जनाले पासपोर्टको सेवा लिएका छन् । जसमध्ये ४६६ जनाले पासपोर्ट नवीकरण गरेका छन् भने ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइएको छ । यसैगरी १० जनाले झुत्रा र खराब पासपोर्ट फालेर नयाँ बनाएका छन् ।
शिविरमा दिइएको जानकारी अनुसार बाँकी ६६ जनाले अन्य सेवाहरु लिएका थिए ।
जपानको दोश्रो ठूलो शहर नागोयाको ‘नागोया कुक्साइ सेण्टर’ मा सञ्चालित घुम्ती शिविर डिसेम्बर २ बाट शुरु भई चारदिनसम्म सञ्चालन भएको थियो । शिविर गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानको सहकार्य र नागोया क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा सञ्चालन भएको हो ।
अपेक्षा गरिएभन्दा बढि नेपालीले नागोयाको घुम्ती सेवाबाट सेवा लिएको क्षेत्रीय समिति संयोजक भेषनाथ गौतमले जानकारी दिए । ‘हामीले ४०० को हाराहारीमा सेवाग्राहीहरु आउने अपेक्षा गरेको थियौँ, तर अपेक्षा भन्दा बढी भयो । राहदानीसहित विभिन्न समस्या लिएर आउने नेपालीलाई दूतावासको समन्वयमा सेवा दिएरै पठाइयो । कोहि पनि सेवाबाट वञ्चित भएनन् ।’–संयोजक गौतमले भने ।

नागोयाको घुम्ती शिविरमा यसपटक सेवाग्राहीबाट नेपाल सरकारको नाममा ९६ लाख ८७ हजार रुपियाँ राजश्व संकलन गर्न नेपाली राजदूतावास सफल भएको छ ।
दूतावासले राहदानी नवीकरणको १८ हजार येन तोकेको थियो। यसैगरी हराएको, च्यातिएको वा अन्य कारणले प्रयोग गर्न नसकिने राहदानीको ३६ हजार यन र दश वर्षभन्दा कम उमेरका बच्चाको राहदानी नवीकरणका लागि ९ हजार यन राजश्व लिने गरेको छ । भने, जाापानमा जन्मेका बच्चाको पहिलो पटक राहदानी बनाउन १५ हजार राजश्व उठाउने गरिएको छ ।
यसरी उठाइएको सबै राजश्व नेपाल सरकारको नाममा जम्मा हुनेगर्छ । यद्दपि घुम्ती सेवाका लागि हुने अन्य व्यवस्थापकीय कामका लागि एनआरएनएले सहयोग गरेको नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले जानकारी दिए । पौडेलका अनुसार घुम्ती सेवामा आउने सेवाग्राहीबाट राजश्व बाहेक थप रकम उठाइएको छैन ।
‘यसपटक घुम्ती सेवाका लागि आठ लाख रुपियाँभन्दा बढि खर्च भएको ।

एनआरएनए आइसीसीका सचिव पारसमणि पोखरेलले नागोयाको घुम्ती शिविरले जापानमा रहेका नेपालीलाई राजदूतावाससँग प्रत्यक्ष संवादको वातावरण मिलाएको बताए । उनी भन्छन्–‘राजदूतावाससँग कतिपय सवालमा नेपालीका गुनासा रहेका थिए । फिल्डमै सेवाग्राही र सेवाप्रदायक भेट भएर काम सम्पन्न भएपछि कतिपय असमmदारी हटेको पाईयो । यस हिसाबले नागोयाको घुम्ती शिविर सफल भएको ठानेको छु ।’
नागोयामै बसोबास गर्दै आएका एनआरएनए एशिया प्यासिफक उपसंयोजक दिपक कार्कीले सबैको सक्रियताबाट यसपटक शिविरमा आएका सबै नेपालीलाई सेवा दिन पाइएको बताए ।

शिविरमा दूतावासका तर्फबाट द्वितीय सचिव जितबहादुर कार्की, तृतीय सचिव ज्ञानहरि ज्ञवाली, फुकुओकाका वाणिज्य दूत दिपक देवकोटा र टेक्निसियन आबेसानको सहभागिता थियो ।

सेवा सञ्चालनका क्रममा राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरे, उपाध्यक्ष कृष्ण गैरे, कोषाध्यक्ष दिपक सुनार, सह कोषाध्यक्ष रामबहादुर थापा र प्रवक्ता खगराज गौतम, आइसीसी सदस्य विष्णुप्रसाद घिमिरे, पूर्व सचिव श्यामशित्तल श्रेष्ठ, लगायतले फिल्डमै आएर निरीक्षण गरेका थिए । यसबाहेक जापानमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र एनआरएनएको विभिन्न पद र ओहदामा रहेकाहरुको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
यसपछि फुकुओका, ओशाका, गुम्माकेन, ओकिनावा, फुकुसिमा, तोचिगी र हिरोसिमामा पनि घुम्ती शिविर राखिने दूतावासले जनाएको छ ।