टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) जापानको १३औँ अधिवेशन तथा ६७औँ नियमित साहित्य शृङ्खला गर्ने भएको छ।
अनेसास जापानको १३औँ अधिवेशन यही डिसेम्बर १० तारिख आइतवार गरिने भएको हो। अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ नेतृत्वमा कार्यसमिति चयन गर्नेछ। टोकियोको सिनओकुबोमा हुने उक्त कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
यतिबेला अनेसास जापानको वर्तमान (२०२१-२०२३ )कार्यसमिति आफ्नो कार्यकालको उत्तरार्द्धमा आइपुगेको छ।
अनेसास जापानले गराएको जानकारीमा भनिएको छ-“हाम्रो कार्यकालले अघिल्लो विश्वव्यापी महामारी सङ्गसङ्गै जस्तो सुरू भएको कार्यकालका योजनाहरु संग-संगै नयाँ कार्यसमितिमा नविनतम योजनाहरु बनाएर थुप्रै कामहरूलाई एक साथ लिएर हिड्यौ। विषम परिस्थिति र बदलिदो समयलाई आत्मसात् गर्दै डिजिटल प्रविधि संगै भौतिक रुपमै बदलिदो समयलाई अङ्गालेरै भए पनि केही फरक गर्ने प्रयासहरू भइरहे। हामीले के कति गर्न सक्यौँ यसको समीक्षाको पाटो हाम्रा सम्पूर्ण शुभचिन्तकहरूमा छोड्दै यतिबेला हामी हजुरहरु संगै रहेर संस्थाको १३ औँ अधिवेशन तथा ६७ औँ नियमित साहित्य शृङ्खला गर्ने जमर्को गरेको अनेसास जापानका अध्यक्ष रवीन शर्माले जानकारी दिनुभयो ।

