टोकियो । सुर्योदयको देश जापानमा नेपालीको संख्या ह्वात्तै बढेको छ । सन् २०२३ को जुन महिनाको तथ्यांक अनुसार जापानमा १ लाख ५६ हजार ३ सय ३३ नेपाली पुगेको तथ्यांक सार्वजनिक भएको छ।
गत डिसेम्वरमा १ लाख ३९ हजार ३९३ नेपाली रहेका थिए हाल २०२३ को जुन महिनामा आईपुग्दा नेपालीको जनसंख्या १६ हजार ९४० ले बृद्धि भएको हो । जापान सरकारको अध्यागमन बिभागले हालै जापानमा रहेका बिदेशीहरुको संख्या अधावधिक गरेको छ । जापानमा २०२३ को जुन महिनामा विदेशीको संख्या ३३ लाख भन्दा बढी रहेको छ । बर्षमा दुइपटक जुन महिना र डिसेम्बर महिनालाई आधार बनाएर तथ्यांक प्रकाशन गरिन्छ। उक्त तथ्यांक प्रकाशन करिब ४ महिना लाग्ने जापान बारे जानकार जिज्ञान कुमार थापाले बताउनु भएको छ ।
जापानमा अध्ययनका लागि जाने नेपालीहरुको संख्या ठूलो छ । वार्षिक रुपमा हजारौं नेपाली अध्ययनका लागि आईपुग्छन् भने रोजगारीका लागि आउनेकोन संख्या पनि ठूलै छ । यस अघि जापानमा सन् २००० मा केवल तीन हजार छ सय ३९ नेपालीहरु दर्ता भएर बसेको तथ्यांक छ ।
सन् २०२२ मा मात्र ४२ हजारभन्दा बढी नेपाली जापान प्रवेश गरेका थिए । नेपालीहरु जापानमा अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीको लागि पुग्ने गरेका छन् ।
जापानमा हाल पारिवारिक भिषामा बस्ने नेपालीको संख्या पनि बढिरहेको छ । तयस पछि अध्ययनको लागी नेपाली विद्यार्थीको संख्या बढी छ ।
हाल टोकियोमा धेरै नेपालीहरुको बसोबास रहेको छ । त्यसपछि क्रमशः आइची प्रान्त, चिबा, कानागावा, फुकुओका र साइतामा नेपालीहरु ठूलो संख्यामा बसोबास गर्छन् ।

