आइतबार, फागुन १३, २०८०

नेपाली राजदूतावास जापानले नोभेम्वरबाट ९ शहरमा घुम्ती सेवा संचालन गर्ने

टोकियो । गत वर्ष संचालित घुम्ती शिविर प्रभावकारी भएर नेपालीहरु धेरै लाभान्वित भएपछि जापान स्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरुलाई सहज सेवा उपलब्ध गराउनको लागि पुनः घुम्ती सेवा संचालन गर्ने भएको छ ।

दूतावासले जापानका प्रमुख ९ शहरहरुमा सन् २०२३ नोभेम्वर देखि आगामी बर्षको जुलाईसम्म घुम्ती सेवा संचालन गर्ने जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाली राजदूतावासले होक्काइदो, नागोया, फुकुओका, ओशाका, गुम्वाकेन, ओकिनावा, फुकुशिमा, तोचिगी र हिरोशिमामा घुम्ती सेवा संचालन गर्न लागेको उल्लेख गरेको छ ।

नेपाली राजदूतावास टोकियोमै आइपुग्नुपर्ने बाध्यतालाई हटाउँदै नेपाली नागरिकहरुलाई उनिहरु बसेकै शहरमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप घुम्ती शिविर संचालन गर्न लागिएको नेपाली राजदूतावास जापानका प्रथम सचिव जित बहादुर कार्कीले जानकारी दिनुभयो ।
सचिव कार्कीका अनुसार घुम्ती सेवामा राहदानी, अधिकृत वारेशनामा प्रमाणीकरण, यात्रा अनुमतिपत्र, कागजात प्रमाणीकरण लगायतका सेवाहरु उपलब्ध हुनेछन् ।

राजदूतावास जापानले यसअघि पनि राजधानी टोकियो सहित गुन्मा, नागोया, फुकुओका, ओसाका लगायत शहरमा घुम्ति शिविर संचालन गरेको थियो ।

घुम्ती शिविर बारे प्रकाशित कार्यतालिका
-होक्काइदो : २०२३, नोभेम्वर ४ र ५ तारिख
-नागोया : २०२३ डिसेम्वर २, ३ र ४ तारिख
-फुकुओका : २०२४ जनवरी १३, १४ र १५ तारिख
-ओशाका : फेब्रुवरी १०, ११ र १२ तारिख
-गुम्वाकेन : मार्च २०२४ तारिख तोकिन बाँकी
-ओकिनावा : अप्रिल २०२४ तारिख तोकिन बाँकी
-फुकुसिमा : अप्रिल २०२४ तारिख तोकिन बाँकी
-तोचिगी : मे २०२४
-हिरोशिमा : जुलाई २०२४, तारिख तोकिन बाँकी
नेपाली राजदूतावास जापानले घुम्ती सेवा संचालन हुने मिति, स्थान र अन्य थप जानकारी पछि प्रकाशित गरिने जनाएको छ ।