शुक्रबार, फागुन ११, २०८०

सकारात्मक सूचना दिन पत्रकारहरुलाई राजदूत डा .सुवेदीको आग्रह

टोकियो । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले जापानका नेपालीलाई प्रदान गरिने सेवालाई छिटो, छरितो र सबैको पहुँचमा पुर्याउन निकट भविष्यमैं साता ब्यापी घुम्ती सेवा सञ्चालन गर्ने बताउनु भएको छ ।
जापानस्थित टोकियोमा पत्रकारहरुलाई अभिमुखीकरण कार्यक्रमको प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै राजदुत सुवेदीले जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी बनाउनका लागि घुम्ती सेवा सञ्चालन गरिने बताउनु भयो ।
गत वषै घुम्ती सेवा सञ्चालन गरेका केहि क्षेत्रमा यस वर्ष पनि निरन्तरता दिदै थप केहि क्षेत्रमा यस वर्ष सेवा विस्तार गरिने दूतावासले जनाएको हो । एनआरएनए जापानको सहकार्यमा घुम्ती सेवाको मिति तय भै नसके पनि तत्काल नै गरिने तयारीमा दूतावास रहेको बताउनु भएको हो ।

दूतावासले राहदानी वितरणलाई टोकियोमा सप्ताहव्यापी रुपमा गर्ने योजना रहेकोले यसको आवश्यक तयारीमा दूतावास रहेको राजदूत सुवेदीले जानकारी दिनुभयो । अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत सुवेदीले जापानमा पत्रकारहरुलाई सकारात्मक सूचना दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा एनआरएनए जापानका अध्यक्ष नबिन निउरे, नेपाल पत्रकार महासंघ,लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कार्यक्रमका प्रशिक्षक डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदी, महासंघ जापानका सल्लाहकार तथा संस्थापक अध्यक्ष तिलक मल्ल, सल्लाहकारद्वय पूर्ण चलाउने, दिनेश कुमार थपलिया लगायत संचारकर्मी उपस्थिति रहेको थियो ।

पत्रकार महासंघ जापानको आयोजना र फोनिज जापानको सहआयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रम शान्त पहरीको सभापतित्वमा फुवा शेर्पाले धन्यावाद र राजन गौतमले संचालन गरि सम्पन्न भएको थियो ।