टोकियो । जापानमा नेपाली समुदायको सहयोगका लागि नेपाली राजदूतावास र एनआरएनए जापानसंग विगतदेखि गर्दै आईरहेको सहकार्यलाई निरन्तरता दिदै मिलेर कार्य गर्ने भएको छ ।
नेपाली राजदूतावास टोकियो जापानले शनिबार एनआरएनए जापानको नवनिर्वाचित राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी र सदस्यहरुको लागि आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले उक्त प्रतिवद्दता व्यक्त गरेका हुन ।
एनआरएनए जापान र दूतावासका बिचको सहकार्य र सुसम्बन्धका कारण जापानस्थित नेपाली समुदाय, विश्वभरका नेपाली माझ र देशमा पनि सकारात्मक सन्देश गएको उल्लेख गर्दै राजदूत सुवेदीले यो सहकार्यलाई निरन्तरता दिनका लागि आग्रह गरे ।
‘दूतावास एनआरएनए जापानको टिमसंग मिलेर हरेक कार्य गर्न प्रतिबद्ध छ ।’ नवनिर्वाचित एनआरएनए जापानको टिमलाई स्वागत गर्दै राजदूत सुवेदीले भने( ‘ हामी सकारात्मक पनि छौ, रचनात्मक पनि छौ, कुनै पनि अहंकार नराखीकन दाजुभाइ दिदी बहिनीको व्यवहार गरेर हरेक कार्यसम्पादन गर्ने छौ ।
एनआरएनए जापानलाई सफल बनाउनु भनेको एम्बेसी पनि सफल हुनु हो भन्दै राजदूत सुवेदीले एम्बेसी सफल हुनु भनेको नेपाली समाज नै सफल हुनु भएकोले सहकार्य र सुसम्बन्धलाई मुख्य आधार मानेर काम गर्नुपर्नेमा जोड दिए ।
जापानमा नेपालीको संख्या बढ़ेसंगै समृद्धि र पूँजी मात्र बढेको नभई समस्या पनि बढेर गएको तर्फ इगित गर्दै सुवेदीले यस्ता समस्याको समाधानका लागि एनआरएनए जापान र दूतावास मिलेर सहकार्य गरिनु आवश्यक भएको बताए ।
एनआरएनए जापानले हटलाइन टेलीफोन सेवा संचालनमा ल्याएपछि दूतावासको कामको बोझ केहि कमी आएको उक्त अवसरमा राजदूतले बताए । दूतावासको टेलिफोन नउठ्ने समस्या पनि कर्मचारीको कमीले गर्दा भएकोले नेपाल सरकारले दूतावासका लागि कर्मचारी थप प्रक्रिया अगाडि बढाइने आश्वासन दिएकाले कर्मचारी बढ़ेसंगै यो समस्या हटेर जाने उनले बताए ।
एनआरएनए जापानका अध्यक्ष नविन निउरेले नेपाली दूतावासद्वारा प्रदान गरिने सेवा जापानमा रहेका नेपाली नागरिकलाई छिटो, सहज र पहुँच योग्य बनाउन घुम्ती सेवालाई वार्षिक नियमित कार्यक्रमकै रुपमा राखेर लैजानु पर्ने बताए ।
नेपाली समुदायमा आईपर्ने समस्या र त्यसको समाधानका लागि दूतावास, एनआरएनए र सामाजिक संघ संस्था मिलेर प्रभावकारी कार्यक्रम संचालन गरिनु पर्ने आवश्यकता औल्याउदै अध्यक्ष निउरेले दूतावास र एनआरएनएका बीचमा संस्थागत सहकार्यलाई जोड़ दिई सूचना आदानप्रदान गरिनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष निउरे उपाध्यक्ष सिद्दार्थ श्रेष्ठ, महासचिव टिकाराम खरेल, सचिव चन्द्राकुमारी केसी, प्रवक्ता खगराज गौतम सदस्य रामु कंडेल, मन्जु बन, राम बस्तोला लगायतको उपस्थिति रहेको थियो ।
एनआरएनए जापानको सहकार्यमा दूतावासले घुम्ती सेवा सञ्चालन गर्ने
नेपाली दूतावासद्वारा प्रदान गरिने सेवालाई जापानमा रहेका नेपाली माझ छिटो छारितो, सहज सरल र पहुँच योग्य बनाउन निकट भविष्यमैं एनआरएनए जापानसंगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिने जापानस्थित राजदूतावासले जनाएको छ ।
जापानमा नेपालीको सख्या बढीरहेको र सेवालाई जनमुखी र पहुँच योग्य बनाउनका लागि गतवर्षको सिकाई र अनुभवका आधारमा यस वर्ष पनि घुम्ती सेवा सञ्चालन सञ्चालन गरिने दूतावासले जनाएको हो ।
पहिले घुम्ती सेवा सञ्चालन गरेका केहि क्षेत्रमा यस वर्ष पनि निरन्तरता दिदै थप केहि क्षेत्रमा यस वर्ष सेवा विस्तार गरिने दूतावासले जनाएको हो ।
एनआरएनए जापानको सहकार्यमा गरिन लागेको उक्त घुम्ती सेवाको मिति तय भै नसके पनि तत्काल नै गरिने तयारीमा दूतावास रहेको बताइएको छ । यस वर्ष होक्काइदो सापोरो चिवा क्षेत्र थप गरिने भएको छ भने फुकुओका, नागोया र ओसाकालाई निरन्तरता दिइने भएको हो ।
दूतावासले राहदानी वितरणलाई टोकियोमा सप्ताहव्यापी रुपमा गर्ने सोच रहेकोले यसको यसको आवश्यक तयारीमा दूतावास रहेको राजदूत डा. दुर्गाबहादुर सुवेदीले बताए ।