टोकियो । जापानमा रहेका संघ संस्था र सरोकारवाला निकायसँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एकरूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था र समाजसंग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि वृहत अन्तरक्रियाको आयोजना गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए ।
‘एनआरएनए जापानले जापानमा क्रियाशिल विभिन्न संघ,संस्था, राजनितीक पार्टीका भातृ संगठन लगायत पत्रकारहरुसंग समसामयिक बिषयमा छलफल गरि संस्थाको भावी कार्ययोजनाको तय गर्नका लागि अन्तरक्रिया गर्न लागेका हौ ।’ अध्यक्ष निउरेले भने- “संघ संस्थाहरुबाट सल्लाह,सुझाब लिने लगायत आपसी समन्वयमा काम कारवाहीलाई अगाडि बढाउन अन्तरक्रिया कार्यक्रम फलदायी हुनेछ ।”
एनआरएनए जापानलाई साझा छाता संस्थाको रूपमा विकास गरि जापानमा नेपाली समुदायलाई गरिने हरेक किसिमका सहयोगलाई चुस्त र व्यवस्थित गर्न सघाउन पुर्याउन अन्तरक्रिया कार्यक्रम एक कोशेढुंगा हुने विश्वास एनआरएनए जापानका महासचिव टिकाराम खरेलले व्यक्त गरे ।
सेवा प्रदानमा सहजता ल्याउन कार्यक्रम पश्चात् सम्पूर्ण सरोकारवाला निकायसहितको एक सम्यन्त्र निर्माण गर्ने योजना रहेको महासचिव खरेलले बताए ।
एनआरएनए जापान र जापानमा क्रियाशिल संघ संस्थाबाट नेपाली समुदायले अपेक्षा गरेको सेवा र सहयोगलाई कसरी पहुँच योग्य, छारितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित रहने भएकोले जापानस्थित सम्पूर्ण सरोकारवाला निकाय, संघ सस्था, समाज र प्रवुद्द व्यक्तित्वहरूलाई उपस्थितिका निम्ति कार्यक्रमका संयोजक समेत रहेका एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध गरेका छन ।