शुक्रबार, बैशाख ११, २०८३

एनआरएनए जापानले टोकियो प्रहरीसंगको समन्वयमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास गर्दै

जापान । एनआरएनए जापानले टोकियो प्रहरीसंगको समन्वयमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास गर्न लागेको छ।
एनआरएनए जापानले विशेष गरि नेपालीहरुको लागि प्राकृतिक प्रकोप आइपरेको समयमा तत्काल बच्नका लागि अपनाउनु पर्ने उपायका बारेमा सचेतना जनाउनका लागि जापानको टोकियोमा प्राकृतिक प्रकोप पूर्व तयारी अभ्यास गर्न लागेको हो ।
टोकियो महानगरीय प्रहरी विभाग आयोजक र एनआरएनए जापान सह आयोजक रहने गरि अगस्ट ३१ तारिक टोकियोको नाकानो स्थित सिकिनो मोरी पार्कमा उक्त अभ्यास गरिन लागेको एनआरएनए जापानकी उपाध्यक्ष डा एलिजा केसी भण्डारीले जानकारी दिइन ।
प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै तत्काल त्यस्तो अवस्थामा अपनाउनु पर्ने कुराका बारेमा सचेतना दिनका लागि स्टाम्प र्यालीसहितको पूर्व तयारीको अभ्यास सो दिन बिहान ९:३० बजेदेखि १ बजेसम्म गरिन लागेको उनले बताइन् ।
भूकम्प ज़स्तो प्राकृतिक प्रकोपको जोखिम उच्च रहेको जापानमा भूकम्पका बेला के कस्तो पूर्व तयारी गर्नुपर्छ के कसरी बच्नुपर्छ त्यस बारेमा जानकारी गराइने छ ।
उपाध्यक्ष केसी भण्डारीले भनिन भूकम्प आउदा कस्तो महसुश हुन्छ भन्ने कुरालाई हेर्न सकिने भएकोले कार्यक्रममा सहभागिताको लागि अनुरोध छ ।
जापान प्रहरीसंगको सहकार्यमा कार्यक्रम गरिन लागेको र यसले प्राकृतिक प्रकोपको सचेतनाका साथै जापान र नेपालको दौत्य सम्बन्धलाई थप मजबुत बनाउन सहयोगीको भूमिका निर्वाह गर्ने विश्वास एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए ।

कार्यक्रम उपयोगी र सचेतनामूलक रहनुका साथै स्टाम्प र्यालीमा सहभागिता जनाउनेलाई उपहार पनि प्रदान गरिने भएकोले सहभागिताका लागि जापानबासी नेपाली समुदायलाई एनआरएनए जापानका महासचिब टिकाराम खरेलले अनुरोध गरेका छन ।