जापान । टोकियोमा जुलाई २२ र २३ तारिख आयोजना गर्न लागिएको नेपाल फेस्टिवल २०२३ को तयारी तिब्र पारेको छ ।
नेपाली राजदूतावास जापान र गैरआवासीय नेपाली संघ जापानको संयुक्त आयोजनामा हुन लागेको फेस्टिवलको तयारी तीव्र बनाएको हो ।
फेस्टिवल आयोजनाको लागि नाकानोको शिकी नो मोरी पार्क व्यवस्थापन, नाकानो सिटि प्रशासन सहित फोहोर व्यवस्थापन लगायत सरोकारवाला निकायसँग छलफल सहित काम अघि बढाइएको एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले जानकारी दिनुभयो । नेपाल फेस्टिवल मुल आयोजक समितिका संयोजक समेत रहनुभएका पौडेलका अनुसार फेस्टिवलका लागि आवश्यक समितिहरु गठन अन्तिम चरणमा पुगेको छ भने प्रमुख समितिहरुमा जिम्मेवारी बाँडफाँड गरिएको छ ।
जस अनुसार फेस्विल मुल आयोजक समितिको उपसंयोजकमा संगिता अधिकारी सुवेदी र सचिवमा सिद्धार्थ श्रेष्ठ रहनुभएको छ ।
यसैगरि आर्थिक व्यवस्थापनमा नविन न्यूरे र स्टल व्यवस्थापन सहित प्रचार प्रसारको जिम्मेवारी सुभास लामिछानेले सम्हाल्नुभएको छ ।
स्टल बुकिङ खुल्यो
नेपाल फेस्टिवलमा यस पटक स्टलहरु घटाइने भएको छ । यस पटक स्टलहरुको संख्या आधा कम गरिन लागिएको नेपाल फेस्टिवल स्टल व्यवस्थापन समितिका संयोजक सुभास लामिछानेले जानकारी दिनुभयो ।
पार्कको क्षेत्रफल अनुसार स्टल धेरै हुँदा गत बर्ष आगन्तुकहरुलाई मनोरञ्जन लिन, जापानी नागरिकहरुलाई नेपालको पर्यटकिय स्थलहरुबारे बुझ्न, नेपाली कला, संस्कृति र सांस्कृतिक प्रस्तुतीहरु अवलोकन गर्न स्थान साँघुरो भएको जस्ता गुनासाका कारण यस पटक स्टलहरुको संख्या आधा कम गरिने भएको एनआरएनए जापानका प्रवक्ता समेत रहनुभएमा लामिछानेले जानकारी दिनुभयो ।
फेस्टिवलमा कुल स्टल २६ वटा रहने बताउँदै लामिछानेले खानाको स्टल १० वटा मात्र रहने बताउनुभयो । फुड स्टल सहित व्यावसायिक स्टलको बुकिङ खुला गरिएको र पहिले बुकिङ गर्नेलाई पहिलो प्राथमिकतामा स्टल उपलब्ध गराइने भएकाले ईच्छुक व्यक्ति, व्यवसायी तथा संस्थाहरुलाई यथाशक्य छिटो स्टल सुनिश्चित गर्न स्टल व्यवस्थापन समितिका संयोजक लामिछानेले आग्रह गर्नुभयो ।
जुन महिनाको अत्यसम्म स्टल बुकिङ र बाँडफाँड समय राखिएपनि तोकिएको संख्यामा बुकिङ सकिएपछि स्टल बुकिङ बन्द गरिने लामिछानेको भनाई छ । स्टल बुकिङ गर्न ईच्छुक व्यक्तिहरुले गैर आवासिय नेपाली संघ जापानको कार्यसमिति सदस्यहरु सहित व्यक्तिगत रुपमा आफुलाई सम्पर्क गर्न सक्ने लामिछानेले जानकारी दिनुभयो ।
फेस्टिवलको बारेमा जापानमा रहेका संघसंस्था तथा अग्रज प्रतिनिधिहरुसँग एकचरण छलफल गरिसकिएको र विषयगत समिति सहित समग्र विषयमा जापानवासी नेपालीहरुको सुझावलाई मनन गरेर सम्भव भएसम्म फेस्टिवललाई नेपाली चिनारी झल्काउने गरि आयोजना गरिने फेस्टिवल मुल आयोजक समितिका सचिव सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

