जापान । नेपाल सरकारका पूर्व उद्योग मन्त्री तथा नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले वैदेशिक रोजगारलाई नकारात्मक रूपमा लिन नहुने बताउनु भएको छ ।
सोमवार टोकियोस्थित नेपाली राजदूतावासले दूतावास भवनको सभाहलमा आयोजित १६औं गणतन्त्र दिवसको विशेष कार्यक्रमको अवसरमा सो कुरा व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा प्रमुख आतिथ्यताको आसनबाट बोल्नु हुँदै पूर्वमन्त्री बस्नेतले जापानवासी नेपालीहरुको समस्याको समाधानको लागि नेपालमा रहेर आफूले सक्ने सहयोग रहने बताउनु भयो । दूतावासमा भवनको अभाव, कर्मचारी लगाएत प्रविधिको अभावको बावजूद दूतावासको कार्यको खुलेर प्रशंसा गर्नु भयो ।
वैदेशिक रोजगारीमा नेपालीहरु जानु ठीक वा बेठीक विषयमा अहिले बहस भईरहेको छ, आम रूपमा वैदेशिक रोजगारमा जानुलाई नकारात्मक रूपमा प्रचार गर्नु गलत भएको बताउनु भयो । विदेशमा रोजगार तथा व्यवसायी गर्न अन्य विकसित देशका जनता पनि जाने प्रचलन रहेको उदाहरण दिदै नेपालीहरुले वैदेशिक रोजगारीमा सिकेको श्रम, शिप र पूँजी नेपालले सदुपयोग गर्न सक्नु पर्ने भन्दै स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रम जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गा बहादुर सुवेदीले समय ब्यवस्थापन गर्दिनु भएको प्रमुख अतिथि बस्नेत लगाएतलाई आदरपूर्व धन्यवाद व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा नेकपा(एमाले) का केन्द्रीय सदस्य राजिब पहारी, एमाले बागमती प्रदेश सदस्य पर्शु बस्नेत, युवा संघ नेपालका केन्द्रीय सदस्य अजित लामा, गैरआवासीय नेपाली संघ आइसीसी उपाध्यक्ष भूषण घिमिरे, कोषाध्यक्ष महेश श्रेष्ठ, उप-महासचिब ओम गुरूङ,एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल लगाएत पदाधिकारीहरु, प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेल, जनसम्पर्क समितिका सभापति रोशन केसी, जनसम्पर्क मंच जापानका सल्लाहकार भुपाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, अनेसास जापानका अध्यक्ष रविन शर्मा, लोक दोदोरी प्रतिष्ठान जापानका अध्यक्ष महेन्द्र न्यौपाने लगाएत जापानका अग्रज नेपाली व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
दूतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले संचालन गरेको उक्त कार्यक्रममा नेपालीहरुको लागि टेलिफोन र जापानवासी नेपालीको अभिलेखको शुभारम्भ पूर्वमन्त्री बस्नेतले गर्नु भएको थियो ।
सोहि कार्यक्रममा नेपालबाट आएको कलाकारहरुले आफनो छोटो सांगितिक प्रस्तुत राख्नु भएको थियो ।





