शनिबार, बैशाख ०८, २०८१

तिम्रो मण्डपको दृश्य (कविता)

मिना खड्का, टोकियो, जापान ।

यो समयको दोष हो(अलि अप्ठ्यारो अवस्थामा थिएँ)
*अलमल्ल थियो विद्यार्थी जीवन
अध्यारो जीवनले के बुझ्थ्यो र प्रेमको भाषा
बुझेपनि कहाँ थियो र प्रेम मनमा बोकेर हिड्ने समय
मनभरी सपनाका त्यान्द्रा बोकेर
निस्फिक्री हिडीरहे
आफ्नै तालमा

उहीँ सुदूर जीवन
शुन्यतामाथी ब्यस्त थियो दैनिकी
तिम्रा हठाथ् आगमनले
सोधिरहन्थ्यो प्रश्न
दिनहुँजसो भन्थ्यो
कति ब्यस्त तिमी
एकचोटि समय मागेरै भनेका थियौ
केही जरुरी कुरा छ
मैले बुझेकी थिएँ
तिम्रा प्रश्नहरु झरी झैं बर्सीनेवाला छन्
सबै बुझेरपनि नबुझेझैँ
नेटवर्क छैन सरी भन्दिएकी थिए

विस्तारै दिकदारी लाग्यो होला
सोच्यौ होला
ब्यस्तता होइन, बेवास्ता हो
सायद त्यस्तै सम्झीन थालेपछि होकी
या त थाकेर हो,
हतारहतार आउने प्रश्न र प्रस्ताव एकाएक रोकिए
म त हलुँगो महसुस गर्दै थिएँ
सधैंको लागि होइन रहेछ
होइन भने किन किन फेरि याद आयो
त्यहीँ पल, त्यहीँ घडी
झस्काइदियो वर्तमानको खण्डहरले
पठाइदियो मस्तिष्कलाई
उहीँ पुरानो बाचा कवचतर्फ
आफैंद्रारा हत्या गरिएको
बेवास्ता गरिएको बेवारिसे चाहानातर्फ

आज फेरि खै किन हो
एकाएक पुरानो मर्म र यादले घोच्यो
हावा चल्यो बेस्सरी
गड्याङगुडुङ चर्कियो
मुसलधारे पानी पर्यो
जीवनमा गर्नैपर्ने एउटा विवश सम्झौता
साह्रै हतारहतार गरेछौ
हासेर बधाई सिवाय केही भन्न सकिनँ
तिम्रो मण्डपको दृश्य आँखाभरी नाच्यो

यो नियतमाथि कुनै सन्देह गरिनँ
अहिले त तिमीप्रतिको प्रेम आँखाभरी बोकेर यात्रामा निस्कीएकी छु
जीवनको गत्यावरोधसँग पाैंठेजोरी खेल्न
साहसका पखेटा बटुलिरहेकी छु ।