आइतबार, साउन २४, २०८३

कवितामा गुञ्जियो धम्मवती गुरुमाँको साधनामय जीवन

काठमाडौं । प्रायः धार्मिक गतिविधि र प्रवचनका लागि परिचित धर्मकीर्ति विहारमा शनिबारको वातावरण भने फरक थियो । विहारको सभाहलमा धार्मिक प्रवचनको सट्टा कविता गुञ्जिएका थिए ।

कविताका शब्द–शब्दमा श्रद्धा मिसिएको थियो भने उपस्थित साहित्यकार तथा श्रद्धालुका भावनामा श्रद्धेय डा. धम्मवती गुरुमाँको साधनामय जीवन प्रतिध्वनित भइरहेको थियो । यही परिवेशमा ‘कवितामा धम्मवती’ छन्द काव्य उत्सव सम्पन्न भयो ।

धर्मकीर्ति विहार संरक्षण कोषको सहकार्यमा सम्यक् सन्देशद्वारा आयोजित उत्सव धम्मवती गुरुमाँको साधना, साहित्यिक योगदान, व्यक्तित्व तथा प्रेरणादायी जीवनलाई कविताका माध्यमबाट सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको हो । उत्सवले श्रद्धा र सिर्जनालाई एउटै भावभूमिमा जोड्दै उहाँप्रति सम्मान अर्पण गरेको थियो ।

शारीरिक अस्वस्थताका बाबजुद धम्मवती गुरुमाँ स्वयं कार्यक्रममा उपस्थित हुनुभएको थियो । उहाँको सान्निध्य, स्नेह र आशीर्वादले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो । उहाँकै उपस्थितिमा कविहरूले उहाँको जीवन, साधना र योगदानप्रति समर्पित कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बज्रयान महाविहार, लुम्बिनीका चक्रेश्वर प्रा. डा. नरेशमान बज्राचार्यले धम्मवती गुरुमाँको साधना, साहित्यिक योगदान तथा प्रेरणादायी व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो । उहाँले धम्मवती गुरुमाँको जीवन र कर्मले समाज तथा नयाँ पुस्तालाई दिएको प्रेरणाको महत्त्व औँल्याउनुभयो । धर्मकीर्ति विहार संरक्षण कोषकी उपाध्यक्ष श्रद्धेय खेमावती गुरुमाँको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ डा. रिना तुलाधर तथा उपन्यासकार गंगाप्रसाद भेटवालले पनि उहाँको साधना, व्यक्तित्व र साहित्यिक योगदानबारे प्रकाश पार्नुभएको थियो ।

उत्सवको प्रमुख आकर्षण कविता वाचन थियो । लोककवि राजभाइ जकमि, श्यामलाल चित्रकार, प्रेमलक्ष्मी तुलाधर, धरणीधर गुरागाईँ, शिवप्रसाद आचार्य, कृष्णप्रसाद पौडेल, सुशील रिजाल, इन्दिरा प्रयास, द्वारिका कुइँकेल, सत्यनारायण ढकाल, डिल्लीप्रसाद मूलतिहुन, चेवन बस्नेत, सुरेशचन्द्र घिमिरे, दुर्गाभवानी भट्ट, शम्भु गजुरेल, गोमा रेग्मी, रुबि सत्याल, यदुनाथ बसन्तपुरे, ऋकेश भण्डारी ‘ऋगीश’, वासुदेव पौडेललगायतका कविहरूले धम्मवती गुरुमाँप्रति समर्पित कविता वाचन गरेका थिए ।

कवितामार्फत कविहरूले उहाँको साधनामय जीवन, साहित्यिक योगदान र प्रेरणादायी व्यक्तित्वलाई अभिव्यक्त गरेका थिए । कवितावाचनले धर्मकीर्ति विहारको सभाहललाई श्रद्धा, सिर्जना र आध्यात्मिक भावनाले भरिएको साहित्यिक परिवेशमा रूपान्तरण गरेको थियो । कविता वाचनपछि गुञ्जिएको साधुकारले कार्यक्रमको आत्मीयता थप बढाएको थियो ।

सम्यक् सन्देशले उत्सवमा वाचन गरिएका कविताका साथै धम्मवती गुरुमाँप्रति समर्पित अन्य कविता संकलन गरी पुस्तकाकार रूपमा प्रकाशन तथा अभिलेखीकरण गर्ने तयारी अघि बढाउने जनाएको छ । सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले यसबाट धम्मवती गुरुमाँको साधना, साहित्यिक योगदान र प्रेरणादायी जीवनलाई नयाँ पुस्तासम्म पुर्‍याउन सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमको सहजीकरण धर्मकीर्ति विहार संरक्षण कोषका सदस्य अरुणसिद्धी तुलाधरले गर्नुभएको थियो । ‘कवितामा धम्मवती’ले साधना र साहित्य तथा श्रद्धा र सिर्जनाबीच सेतु निर्माण गर्दै धम्मवती गुरुमाँको जीवन र योगदानलाई साहित्यिक रूपमा अभिलेखीकरण गर्ने प्रयास गरेको छ ।

 

यसमा तपाईको प्रतिक्रिया