शुक्रबार, बैशाख ११, २०८३

जापानको ओसाकामा घुम्ति सेवा ४ दिनसम्म चल्ने : पहिलो दिन ११८ जनाले लिए सेवा

अमर लामा, ओसाका । जापानको ओसाकामा नेपाली राजदुतावास जापान टोकियो र एनआरएनए जापान सहकार्यमा तथा एनआरएनए जापान कान्साई क्षेत्रीय समितिको संयोजनमा चार दिने घुम्ती सेवा सुरु भएको छ ।
शनिवारमा जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदीले जापानको ओसाकामा घुम्ती सेवा शुभारम्भ गर्नु भएको हो ।
सेवाको उदघाटन गर्दै राजदूत सुवेदीले जापानमा रहेका नेपालीको लागि घुम्ती सेवाले ठुलो राहत पुगेको बताउदै यस्ता साना-साना कार्यले पनि परदेशमा रहेका नेपालीहरुलाई हरेक समस्या पर्दा सहयोग सहजीकरण गर्न आफू सदैव लागि रहने पनि बताउनु भयो ।
सोहि अवसरमा राजदुत सुवेदीले भाईचारा, सद्भाव, सहकार्य गर्दै खुशीसाथ रहन तथा राजदुतावास, नेपाल र नेपालीलाई चिनाउने काम गर्न सम्पुर्ण जापानबासी नेपालीलाई अनुरोध गर्नु भयो ।

घुम्ती सेवा शिविरमा राहदानी नविकरण, जापानमा जन्मिएका बच्चालाई पहिलो पटक राहादनी बनाउन, अधिकृत वारेसनामा प्रमाणीकरण, राष्ट्रियता प्रमाणीकरण गर्न, सवारी चालक अनुमतिपत्र प्रमाणीकरण तथा अन्य प्रमाणीकरण(जन्मदर्ता, अविवाहित, नाता सम्बन्ध) गर्ने यात्रा अनुमति पत्र लगायतका अन्य परामर्श सेवा संचालन गरेको छ ।
दूतावासको सहकार्यमा जापानको घुम्ती शिविर साईतामा, गुन्मा, नागोया फुकुओका, इबाराकीमा सम्पन्न भईसकेको र जापानभर यस्ता सेवा प्रवाह गर्न सदा तत्पर रहेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताउनु भयो।
शिविर ओसाकामा अप्रील २९, ३० र मे १ र २ तारीख सम्म चारदिन संचालन हुने दूतावासका उप-नियोग प्रमुख अम्बिका जोशीले बताउनु भयो ।
ओसाकामा विद्युतीय राहदानी तथा अन्य कन्सुलर कार्यका लागि घुम्ती सेवा हिजो शनिवारबाट सुरु भई ४ दिन सम्म चल्ने छ ।
पहिलो दिन शनिवार ११८ जनाले सेवा लिएका छन । घुम्ति सेवा विभिन्न सामाजिक अभियन्ताहरुको बाक़्लो उपस्थिति थियो ।