मङ्गलबार, असार ०९, २०८३

तामाङ समाज जापानले में ७ मा ‘डम्फु साँझ-२०२३’ बृहत् सांस्कृतिक कार्यक्रम गर्ने

टोकियो । नेपाल तामाङ समाज (NTSJ NPO法人) जापानले टोकियोमा डम्फु साँझ २०२३ बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । तामाङ समाज जापानले में ७ तारिख टोकियोको रोयल गार्डेनको हलमा बृहत् डम्फु साँझ २०२३ मौलिक सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

उक्त डम्फु साँझ कार्यक्रममा जापानमा रहेका नेपाली चर्चित कलाकारहरुको बिशेष प्रस्तुति रहने आयोजक सँस्था तामाङ समाज जापानका महासचिव तेजबहादुर थिङले जानकारी दिनुभयो ।

जापानमा रहेको तामाङ समुदायलाई एकत्रित गरी भाषा, परम्परा लगायतका आफ्ना साँस्कृतिक धरोहरका विविध पक्षलाई संरक्षण एवं सबर्द्धन गर्दै आपसी भाईचारा, मेलमिलाप र सम्बन्धमा विकास एवं बिस्तार गर्दै आईरहेको तामाङ समाज जापानले हरेक बर्ष डम्फू साँझ कार्यक्रम आयोजना गर्दै आईरहेको थियो तर कोरोना भाईरस संक्रमणको कारण केहि वर्ष हुन नसकेको डम्फु साँझ कार्यक्रम तामाङको मौलिक पहिचान र नेपाल चिनाउन टेवा मिल्ने उद्धेश्यले आयोजना गरिएको समाजका अध्यक्ष कर्साङ तामाङले बताउनु भयो।

स्मरण रहोस्,डम्फू तामाङ जातिहरुको लोकबाजा टुङना, डोङमेन, ग्यालिङ, मुरली, डिल्बू, काङलिङ, भाटेमादल, पली, पिहुङ मध्येको एक हो । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, भुटान, भारतको आसाम, मिनिपुर, इम्फाल, दार्जिलिङ र सिक्किमवासी तामाङ जातिहरुको कुनै पनि कार्यक्रममा डम्फूले बिशेष महत्व राख्ने गरेको पाइन्छ ।
तामाङ समाजमा विवाह, छेवर (ब्रतबन्ध) देखि सामान्य जमघटमा डम्फू बजाएर सेलो गाउने र नाच्ने चलन छ ।